भरतपुर महानगरको दमकल खेल मैदानमा पानी हाल्न प्रयोग गरिदै
चितवन, ७ फागुन ।
आगलागी नियन्त्रणमा प्रयोग गर्नुपर्ने दमकल (वारुणयन्त्र) फुटबल मैदानमा धुलो उड्न नदिन तथा दुुबो उमार्नका लागि प्रयाग गरिएको छ ।
तीन दिन अगाडि फागुन ४ गते दिनभर भरतपुर महानगरपालिकाको दकमलले भरतपुर–७ स्थित कृष्णपुर खेल मैदानमा पानी हालेको थियो ।
स्थानीयवासीकाअनुसार दमकलले ६ ट्याङ्कर पानी ल्याएर खेल मैदानमा हालेको हो । भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्लेले सहकार्य गरेर खेलमैदानमा पानी हाल्नका लागि दमकल ल्याएका स्थानीय बताउँछन् । यसविषयमा कुरा गर्दा वडाअध्यक्ष काफ्लेले सामाजिक कामका लागि दमकल प्रयोग गरिएको प्रतिकृया दिए । ‘नराम्रो कामका लागि प्रयोग गरेको होइन’ काफ्लेले भने, ‘खेलकुद हुँदैछ, खेलमैदानमा दुुबो उमार्ने र धुलो मार्ने कामका लागि प्रयोग हुनु दमकलको दुरुपयोग होइन ।’ काफ्लेले आफ्नो बचाउ गर्दै अत्यावश्यक काम नपरेको बेलामा खेल मैदानमा पानी हाल्नका लागि दमकल ल्याएको प्रतिकृया दिएका थिए ।
यस विषयमा भरतपुर महानगरपालिकाका वारुणयन्त्र इन्चार्ज देवेन्द्र रेग्मीले यसअघि पनि पानी हाल्ने गरेकोमा अहिले पनि हालेको बताए । ‘कृष्णपुरमा अन्तर्राष्ट्रिय भेट्रान कप हुन लागेको रैछ, त्यही अनुसारको स्टाण्डर्ड मेन्टेन गर्न पानी हाल्नका लागि वारुण यन्त्र पठाएको हो’ रेग्मीले भने, ‘हुन त हामीसँग बाटोमा पानी हाल्ने स्प्रे गर्ने ट्यांकी पनि छ । तर, त्यो ट्यांकी पठाउँदा त्यहाँको चौर नै बिगार्ने भएर दमकल पठाएको हो ।’ चौरमा पानी हाल्दै बालुवा हालेर चपरा हाल्दै चौर सम्माउने काम भएको उनले बताए । ‘अन्तर्राष्ट्रिय खेल भएकाले इज्जतको सवालको कुरा पनि उठ्यो’ रेग्मीले भने, ‘यो पहिलो पटक मात्रै पानी हाल्न पठाएको होइन, यसअघि पनि क्याम्पाचौरमा कार्यक्रम हुँदा दमकलबाट क्याम्पाचौरमा पनि पानी हालेकै हो, चौबिसकोठी र बाटोमा पानी छर्केकै, नेता आउँदा पानी छर्केकै हो ।’ बीचमा केही वर्ष पानी जथाभावी हाल्न रोकिएको भन्दै उनले यसपटक अन्तर्राष्ट्रिय खेल खेलाइने मैदान बनाउन पठाएको बताए ।
दमकलबाट खेल मैदानमा पानी हालेको विषय गतल भएको भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी बताउँछन् । ‘दमकलको काम आगो निमाउने हो’ भण्डारीले भने, ‘खेल मैदानमा लगेर पानी हाल्नु शत प्रतिशत नै गतल हो ।’ दमकलबाट चौरमा पानी हाल्नु गतल भए पनि कसरी लगेर हालियो भन्ने बारे आफू अनविज्ञ रहेको भण्डारीको भनाइ छ ।
तर, आगलागी भएको ठाउँमा ढिलागरी पुुग्ने भतरपुर महानगरपालिकाको दमकल खेलमैदानमा पानी हाल्न पुुग्दा भने स्थानीयवासी अचम्म परेका छन् । आगो निभाउन समयमा नपुुग्ने दमकल चौर भिजाउन पुुग्नेरैछ भन्दै उनीहरुले आश्चर्य प्रकट गरे ।