विनयजंग बस्नेतको मोबाइल प्रहरीले पठायो फोरेन्सिक ल्याबमा
काठमाडौँ,७ फागुन ।
प्रहरीले मंगलबार पक्राउ परेका विनयजंग बस्नेतको मोबाइल फोरेन्सिक ल्याबमा पठाएको छ । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले बस्नेतविरूद्ध प्रहरीमा जाहेरी दिएपछि बस्नेतलाई प्रहरीले मंगलबार साँझ काठमाडौँको गोंगबु क्षेत्रबाट पक्राउ गरेको थियो ।
सपनाले आइतबार महानगरीय प्रहरी परिसर, काठमाडौँमा जाहेरी दिएकी थिइन् । बेबारिसे शवको दाहसंस्कार गर्दै आए बस्नेतले युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा सपना कोही पनि नभएको र नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि सपनाले आइतबार काठमाडौँ परिसरमा अभद्र व्यवहारको मुद्दा जाहेरी गरेकी थिइन् ।
फोनमा नांगा फोटोहरु रहेको दाबीको बारेमा जाँच गर्नको लागि प्रहरीले बस्नेतको फोन जाँचको लागि ल्याबमा पठाएको हो । उनको फोनमा केही प्रमाणहरु भेटिए उनीमाथि साइबर मुद्दासमेत चलाउने तयारी प्रहरीले गरेको छ ।
प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहारको मुद्धामा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति पाएको छ।
यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। तर, उनीहरुबीचमा कुरा नमिलेपछि अलग भएर आरोप–प्रत्यारोपमा खनिएका थिए ।