गैंडाकोटबाट १४ बर्षीया बालिका बेपत्ता
नवलपुर, ८ फागुन । नवलपुरकाे गैँडाकोट ८ करङ्घारी उज्जवल टोलकी १४ वर्षकी पवी परियार (रश्मी) शुक्रबारदेखि वेपत्ता भएकी छिन् । शुक्रबार बिहान १० बजेको समयमा घरबाटै बेपत्ता भएको आमा शान्ती परियारले बताइन् ।
बिरामी भनेर बिहीबार पनि विद्यालय नगएकी रश्मी शुक्रबार पनि विद्यालय गएकी थिइनन् । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटमा कक्षा ५ मा अध्ययनरत रश्मी बेपत्ता भएपछि परिवारले हार गुहार गर्दै खोजीका लागि पहल गरिदिन आग्रह गरेका छन् । परिवारकी जेठी छोरी बेपत्ता भएपछि परिवार भावविह्वल भएका हुन् । रश्मीका बुवा हाल बैदेशिक रोजगारीको शिलशिलामा दुवईमा छन् ।
यस्तो थियो घटनाक्रम
दैनिक जस्तो गैंडाकोट नगरपालिका वडा नं. ८ करङ्घारी उज्जवल टोल बस्ने १४ वर्षिया रश्मी स्कुल जाने तयारी गरिरहेकी थिइन् । तर अन्य दिनभन्दा उनको व्यवहार फरक थियो । बिहान साढे ९ बजे भाइसँगै निस्किएकी उनी स्कुल ड्रेसमा भने थिइनन् । आमाले किन ड्रेस नलगाएको भनेर पनि सोधेकी थिइन् । तर, रश्मीले आउट ड्रेस लगाए पनि विद्यालयमा केही नभन्ने बताइन् । प्राय मोबाईलमा बढी व्यस्त देखिने उनी आमाको करले मोबाईल घरमा नै छाडेकी थिइन् । प्राय मोबाईलमा गेम खेलेको बताउने उनले के गरिरहेकी छिन् भन्ने परिवारले हेक्का राख्ने गरेको थिएन ।
भाईसँगै विद्यालयका लागि निस्किएकी उनले कालो झोलामा भने किताब कपी कलम बोकेकी थिइन् । घर नजिकै करङ्घारी उज्जवल टोलमा विद्यालयको गाडी आए पनि उनी भने गाडी चढिनन् । भोक लाग्यो भने घर आउँछिन् की भनेर सो दिन आमाले पैसा पनि दिएकी थिइनन् ।
भाइलाई कपीमा एउटा सानो चिठ्ठी अंग्रेजी रोमनमा लेखिन् र भनिन् यो घरम लगेर दिनु । भाइ गाडी चढेर विद्यालय गए । घरबाट निस्कने क्रममा रश्मीले जिन्स पाईन्ट र सेतो धर्के टिसर्ट लगाएकी थिइन् । रश्मी भने कहाँ गइन् अत्तोपत्तो भएन ।
कसैलाई नभन चिठ्ठी ममीलाई लगेर दे भनेपछि भाइले पनि सोही अनुरुप गरे । चिठ्ठीमा उनले घर छोडेर हिंडेको र खोजी नगर्न उल्लेख गरेकी छिन् । त्यसपछि परिवारले खोजी तीव्र पारेका थिए ।
४ बजे पुल्चोकमा देखिएकी थिइन्
उनी शुक्रबार नै अपरान्ह पुल्चोकमा देखिएकी थिइन् । बेलुका ४ बजे पुल्चोकमा माइजू भूमिसरा परियाले देखेको तर कुरा नगरेको बताएकी छिन् । माक्स लगाएकाले पहिचानमा समस्या भएको उनले बताइन् । सिसी टिभीक्यामेरामा पनि चेक गरिएको छ । उनको बसाई र हिंडाई अनुसार रश्मी नै भएको परिवारजनले पहिचान गरेका छन् । त्यसपछि उनी कहाँ गइन् भन्ने पत्ता लागेको छैन ।
प्रहरीमा उजुरी
शुक्रबारबाट सम्पर्कविहिन भएपछि परिवारजनले खोजीका लागि विभिन्न माध्यमबाट आग्रह गर्दै आइरहेका छन् । उनीहरुले ईलाका प्रहरी कार्यालय गैँडाकोटमा खोजीको पहल गरिदन निवेदन दिएका छन् । ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले उनको खोजी कार्य जारी रहेको बताए। परिवारजनसँगै प्रहरी खटिएर अन्य स्थानका प्रहरी परिचालन गरेर उनको खोजीकार्य भइरहेको थापाले बताए ।
उनलाई घरमा नपुग्ने केही थिएन । जहाँ भएपनि एकपटक शकुसल छु भनेर घरमा फोन गरिदिए हुन्थ्यो भन्दै आमा शान्तीले विलाप गर्दै गरेकी छिन् । मोबाईल धेरै हेरेको भनेर आमाले मोबाईल खोसेको बताउँछिन् ।
रश्मीलाई कहीँकतै देख्ने तथा भेट्ने व्यक्तिले ईलाका प्रहरी कार्यालय गैंडाकोटको सम्पर्क नं. ९८५७०९०४८० तथा आमा शान्ती परियारको मोबाइल नं. ९८१११४६९५३ मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन् ।