हिन्दुराष्ट्रबारे जनमत सङ्ग्रह गर्नुपर्छः महामन्त्री कोइराला
नवलपुर, ८ फागुन ।
नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले हिन्दुराष्ट्रको विषय जनमत सङ्ग्रहबाट टुङ्ग्यानुपर्ने बताउनुभएको छ । आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१३ मा शिद्धेश्वर शिवालय मन्दिरको शिलान्यास समारोहलाई सम्बोधन गर्दै कोइरालाले अधिकांश हिन्दु नागरिक भएको मुलुकमा हचुवाको भरमा धर्मनिरपेक्षा ल्याइएको बताउनुभयो ।
कार्यक्रममा महामन्त्री कोइरालाले धर्म सापेक्षा या निरपेक्ष नभइ स्वतन्त्र हुनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेको अवस्थामा आफूहरुले हिन्दुराष्ट्रको विषयमा जनमत संग्रह गराउने कोइरालाले बताउनुभयो । उहाँले नेपाली कांग्रेसको झण्डामा भएको चार वटा तारामध्ये एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतिक भएकोसमेत उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस पनि धर्म स्वतन्त्रताको पक्षमा रहेको हुँदा हिन्दुराष्ट्रको विषयलाई जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने कोइरालाले बताउनुभएको हो । शिद्धेश्वर शिवालय मन्दिरका अध्यक्ष तारानाथ लामिछानेको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछाने, कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशङ्कर मर्दनियालगायतले धर्मको रक्षाका लागि एकजुट हुनुपर्ने समय आएको बताउनुभयो ।