मानव बेचबिखन र बाल संरक्षण विषयमा पत्रकारहरुलाई अभिमुखीकरण
चितवन, ८ फागुन ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्डले चितवनका पत्रकारहरुका लागि मानव बेचबिखन र बाल संरक्षण विषयक अभिमुखीकरण कार्यक्रम गरेको छ । शनिबार गैँडाकोटमा आयोजित सञ्चारकर्मीहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रममा सेलर्डका सदस्य कपील अर्याल, राममणि गौतम, केशव दुवाडी, फूलमाया रानाभाटले सहजीकरण गर्नुभएको थियो ।
अभिमुखीकरणमा राममणि गौतमले मानव बेचबिखन तथा बाल संरक्षणको अवधारणका बारेमा सहजीकरण गर्नुभएको थियो । उहाँले पीडित व्यक्तिले उचित क्षतिपूर्ति पाउनुपर्ने र पीडित हुनुअगाडिको जीवन बाँच्न पाएको अवस्थामा मात्रै पीडितले न्याय प्राप्त गरेको मानिने उहाँले बताउनुभयो । मानव बेचबिखन र मानव तस्कर फरक विषय भएको भन्दै गौतमले यस विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
अभिमुखीकरणमा कपील अर्यालले बाल संरक्षण सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नेपालले धेरै अन्तर्राष्ट्रिय महासन्धिहरुमा हस्ताक्षर गरेको भए पनि सबैको अनुमोदन नगरेको बताउनुभयो । हस्ताक्षर गर्नु र अनुमोदन गर्नु फरक भएको भन्दै उहाँले नेपाल पक्ष राष्ट्र भएर अनुमोदन गरेको महासन्धिहरु कानुनसरह हुने बताउनुभयो ।
सो अभिमुखीकरणमा पीडित केन्द्रित रिपोर्टिङमा सञ्चारकर्मीको भूमिकाका विषयमा केशव दुवाडीले सहजीकरण गर्नुभएको थियो । त्यस्तै सो अभिमुखीकरणमा अधिवक्ता फूलमाया रानाभाटले मानव बेचबिखन र बाल संरक्षणका विषयमा नेपालको कानुनले उल्लेख गरेका विषयमा जानकारी गराउनुभएको थियो ।