चितवनको तरकारीमा ९८.७७ प्रतिशतसम्म विषादी

चितवन, १८ फागुन । 

चितवनमा उत्पादन भएका तरकारीमा अत्याधिक विषादी प्रयोग हुने गरेको पाइएको छ । उत्पादन बढाउन र सूचीकृत नभएका बिउ प्रयोग गरी उत्पादन लिन खोज्दा त्यसमा धेरै मात्रामा हानिकारक विषादीको प्रयोग हुने गरेको हो ।
कृषि ज्ञान केन्द्रचितवनका अनुसार, यहाँ टमाटर, भेडेखुर्सानी, ब्रोकाउलीमा विषादीको प्रयोग अत्याधिक भएको छ । भरतपुरको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालामा तरकारीको नमूना परीक्षण गर्दा पूर्वि चितवनको टमाटर, पाख्रिबासको भेडेखुर्सीनीमा अर्गानो फस्फेट ४५ प्रतिशत भन्दा बढी र ब्रोकाउलीमा ४० प्रतिशत देखिएको कृषि ज्ञान केन्द्र चितवनकी बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले बताइन् । उनी भन्छिन्, “यो मात्रा खान अयोग्य विषादी हो ।” चितवनको टमाटरमा पटक–पटक विषादीको बढी प्रयोग भएको देखिएको छ । यस अघिपनि जिल्लामा ५ क्रेट टमाटर नष्ट गरिएको थियो ।
क्षत्रीकाअनुसार तरकारीमा अर्गानो फस्फेट ३५ प्रतिशत भन्दामाथि देखिएमा तरकारी प्रयोग गर्न मिल्दैन । तर, ३५ देखि ४५ प्रतिशतसम्म देखिएको तरकारीलाई केही दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशत भन्दा कम देखिएमा खान मिल्ने क्षेत्रीले जानकारी दिइन् ।
प्रदेश सरकारको सहयोगमा भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला राखिएको छ । यहाँ नियमित ५ वटा नमूना परीक्षण हुने गर्दछ । विसं २०७६ पुस महिनादेखि यता केरा, टमाटर, भेडेखुर्सानी लगायतका तरकारीमा विषादी बढी देखिएपछि नष्ट गरिएको छ ।
प्रयोगशालाबाट अर्गानो फोस्फेट र कार्बोमेट परीक्षण गरिन्छ । परीक्षणको क्रममा तरकारी र फलफूलमा बढी विषादी देखिने गरेको भरतपुर महानगर बजार व्यवस्थापन समितिका प्रबन्धक थीरप्रसाद धितालले जानकारी दिए । केरा र टमाटरमा त विषादी बढी देखिएर नष्ट नै गरेको भन्दै उनले भने, “विषादी देखिएर होल्डमा राख्नुपर्ने तरकारी त थुप्रै हुन्छन् ।” विषादी प्रयोग गरेको छोटो समयमै तरकारी बजारमा ल्याउँदा विषादीको मात्र बढी देखिएको उनले बताए ।
चितवनको तरकारीमा बढी विषादी पाइएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाण्डौँले कृषि ज्ञान केन्द्र चितवनलाई पत्रसमेत लेखेको छ । कालीमाटी प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिका–२४ ध्रुवनगरका कृषकले लगाएको फर्सीमा ९८ दशमलव ७७ प्रतिशत अर्गानो फस्फेट देखिएको छ । जुन ४५ प्रतिशत भन्दा माथि अर्गानो फस्फेट देखिएमा सो वस्तु खान अयोग्य मानिन्छ ।
बढी मात्रामा तरकारीमा विषादी प्रयोग हुने र त्यसले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउने गरेको बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका उप–निर्देशक डाक्टर कृष्णसागर पौडेलले बताए । विषादी हालेको तरकारी सेवन गर्दा छाला, आन्द्रा र रक्त क्यान्सर हुने पौडेलको भनाइ छ । “यस्ता बिरामी दिनप्रतिदिन बढ्दै छन्”, उनले भने, “अहिले तरकारी बढी उत्पादन हुने काभ्रे, धादिङ, चितवन लगायतका मान्छेमा छाला, आन्द्रा र रक्तक्यान्सर बढी देखिएको छ ।” सुरक्षा सावधानी नअपनाई विषादी छर्दा छालाको क्यान्सर हुने र बढी विषादी प्रयोग गरेको तरकारी खादा आन्द्रा र रक्त क्यान्सर हुने उनले बताए ।
जिल्लामा बढेको विषादी प्रयोगलाई न्यूनिकरण गर्नका लागि कृषि ज्ञान केन्द्र चितवनले सचेतनाका कार्यक्रम गर्दै आएको छ । “हामीले विषादी रहित सप्ताह मनाएर किसानहरुलाई विषादी न्यूनिकरण गर्नका लागि प्रयास गरेका छौँ । कहिले काहीँ जनचेतनामूलक सूचनाहरु सञ्चार माध्यमबाट प्रसारण गर्ने गर्दछौँ” कार्यालय प्रमुख राजन ढकालले भने, “विषादी न्यूनिकरणमा किसानहरु आफैँ लाग्न पनि जरुरी छ ।”