निर्मला शर्मा नेतृत्वको उम्मेदवारहरु देश दौडाहामा
चितवन, २० चैत ।
चैत २५ मा हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रेस चौतारीसहितको समूहबाट उम्मेदवारी दिएका उम्मेदवारहरु देश दौडाहामा हिँडेका छन् ।
गठबन्धनका अध्यक्ष पदका उम्मेदवार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, समावेशी उपाध्यक्ष अवदेश झासहितको पदाधिकारीहरु देश दौडाहाको क्रममा चितवन आएका छन् । चितवन आएको उम्मेदवारहरुको समूहले शुक्रबार बिहान चितवनका पत्रकारहरुसँग भेटघाट एवं अन्तरक्रिया गरेको छ । चौतारी सहितको गठबन्धनमा बनेको समूहबारे जिल्लामा जानकारी गराउन नेपाल पत्रकार महासंघको पूर्व महासचिव उजिर मगरको संयोजकत्वमा टोली देश दौडाहामा हिँडेको हो ।
नेपाल पत्रकार महासंघको करिब सात दशकको इतिहासमा हालसम्म महिला अध्यक्ष नभएको भन्दै यो समय इतिहास रच्ने बेला भएको संयोजक मगरले बताउनुभयो । गठबन्धनको तर्फबाट समावेशीमा पनि सक्षम उम्मेदवारहरु खडा गरिएको भन्दै चौतारीसहितको गठबन्धनको जित सुनिश्चित भएको बताउनुभयो । कार्यक्रममा अध्यक्षकी उम्मेदवार निर्मला शर्माले श्रमजीवीहरुको असली मुद्दा पहिचान र समाधानका लागि उम्मेदवारी दिएको बताउनुभयो ।
सोही क्रममा नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश कमिटीका अध्यक्षका उम्मेदवार हरिप्रसाद पोखरेल, महिला उपाध्यक्ष संगीता आचार्य, महासचिव केशव अधिकारीसहितको समूहले समेत केन्द्रीय उम्मेदवार तथा जिल्लाका पत्रकारहरुसँग भेटघाट गरेको थियो । केन्द्रीय उम्मेदवारहरुको समूह शुक्रबार नै मकवानपुरको हेटौँडातर्फ लागेको छ । समूहले जनकपुर, इटहरी तथा बिराटनगरको यात्रा गर्ने निर्वाचन परिचालन कमिटीका संयोजक उजिर मगरले जानकारी दिनुभयो ।