प्रेस चौतारी चितवनले टुंगायो महासंघमा जाने उम्मेदवार
चितवन, २० चैत ।
प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकार महासंघको निर्वाचनका लागि पदाधिकारीहरुको टुङ्गो लगाएको छ । आगामी चैत २५ मा हुने पत्रकार महासंघ चितवनको निर्वाचनका लागि अध्यक्षमा यसअघि नै तिलकराम रिमाललाई उम्मेदवा बनाउने घोषणा गरेको प्रेस चौतारी चितवनले अन्य पदाधिकारीको भने बिहीबार राति टुंगो लगाएको हो ।
प्रेस चौतारी नेपाल चितवन, मिडिया नेपाल चितवन र जनपत्रकार सङ्गठनको गठबन्धनमा महासंघको निर्वाचनका लागि उपाध्यक्षमा रामकान्त पौडेल, समावेशी उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा दीपेन्द्र अधिकारी, सहसचिवमा खुला तर्फ आनन्द पोखरेल, समावेशी सहसचिवमा अमीर रामदाम र कोषाध्यक्षमा गोविन्द घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको प्रेस चौतारी चितवनका अध्यक्ष सुवाष पण्डितले जानकारी दिनुभयो । पण्डितकाअनुसार मिडिया नेपाललाई जिल्लामा सदस्यमा दुई जना र वाग्मती प्रदेश सदस्यमा एक जना तथा जनपत्रकार संगठनलाई प्रदेश सदस्य एक जना र एउटा जिल्ला सदस्य एक जना दिनेगरी चितवनमा गठबन्धन गरिएको हो ।
त्यसैगरी गठबन्धनकातर्फबाट कार्यसमिति सदस्यहरुमा विकास पौडेल, मुकुन्द भुषाल, हेमराज रिमाल, किशोर खनाल, रोहिणी त्रिपाठी, समीक्षा पुरी, बद्रि अर्याल र तिलक पौडेललाई उम्मेदवार बनाइने निर्णय भएको पण्डितले बताउनुभयो । त्यसैगरी, महिला सदस्यमा रवीना पौडेल, आदिवासी जनजातिमा सञ्जय चौधरी र दलित आरक्षणमा सरोज उपरकोटीलाई पठाउनेगरी सहमति भएको छ । सो सहमति पत्रमा प्रेस चौतारी नेपाल चितवनकातर्फबाट अध्यक्ष सुवाष पण्डित, जनपत्रकार संगठन चितवनका संयोजक सूर्य बराल र मिडिया नेपाल चितवनकी अध्यक्ष समीक्षा पुरीले हस्ताक्षर गर्नुभएको छ ।
शुक्रबार भरतपुरमा उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा प्रेस चौतारी नेपाल चितवनका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य शालिग्राम नेपालले संगठनभित्र वैचारिक संघर्ष भए पनि महासंघको निर्वाचनमा एक भएर लागिपरेको बताउनुभयो । सोही कार्यक्रममा प्रेस चौतारी चितवनका निवर्तमान अध्यक्ष तीर्थ नेपालले प्रेस चौतारीबाट अहिले महासंघमा सदस्य भएका उम्मेदवारहरुलाई हार्ने छुट नभएको बताउनुभयो ।
सकेसम्म सर्वसम्मत रुपमा नेतृत्वमा जानेगरी छलफल भइरहेको प्रेस चौतारी चितवनका अध्यक्ष सुवाष पण्डितले जानकारी दिनुभयो । उम्मेदवारी मनोनयन गर्ने दिनसम्म सहमति, सहकार्यका लागि ढोका खुला गरिएको पण्डितको भनाइ छ । कार्यक्रममा अग्रज पत्रकार वीरेन्द्रमणि पौडेलले चौतारीसहितको गठबन्धनलाई शुभकामना दिँदै आफ्नो समर्थन रहेको बताउनुभयो ।