हात्तीले आक्रमण गर्दा पाँच गैँडा गणक घाईते, हेलिकोप्टरबाट उद्धार
नवलपुर, चैत २० गते ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ गैंडाखालमा गैंडा गणनाको क्रममा हात्तीले आक्रमण गर्दा पाँच जना घाईते भएका छन् ।
गैंडा गणनामा खटिएका कर्मचारी र माउते गरि पाँच जना घाईते भएको गणनामा संलग्न हेमराज आचार्यले जानकारी दिनुभयो । गैंडा गणना गर्नेक्रममा जंगली हात्तीले गणनामा खटिएको हात्तीलाई घेरा हाल्दा गणनामा खटिएको हात्ती डराएर भाग्ने क्रममा राष्ट्रिय प्रकृती संरक्षण कोषका कर्मचारी , ३५ वर्षका विनोद श्रेष्ठ र दुई जना माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका ७ का ४२ वर्षका दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ निवासी ५१ वर्षका देवलाल चौधरी घाईते भएको उहाँले बताउनुभयो ।
घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । घाईते मध्ये श्रेष्ठको अवस्था गम्भीर रहेको छ । उहाँको जिल्ला अस्पताल मध्यविन्दुमा सामान्य उपचारपछि हेलिकोप्टरमा उद्धार गरेर काठमाण्डौं लगिएको छ ।