निषेधाज्ञा उल्लङ्घन गर्नेलाई धमाधम कारवाही
प्रकाशित मिति: आइतबार, बैशाख १९, २०७८ | ११:२१:०५
चितवन, १९ वैशाख ।
दोस्रो लहरमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि चितवनमा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गरिँदैछ । यहाँ निषेधाज्ञा उल्लङ्घन गर्ने दुई हजार ५८२ मानिस तथा ८४१ वटा सवारी साधनलाई कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले शनिबार दिनभरमा सो सङ्ख्यामा कारवाही गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरुबाट कारवाही गरिएको गिरीको भनाइ छ । कारवाहीबाट रु ७२ हजार ९०० जरिवाना असुल गरिएको भन्दै गिरीले सो अवसरमा ५० थान मास्कसमेत वितरण गरिएको जानकारी दिनुभयो ।
निषेधाज्ञामा तोकिएकाबाहेकका सवारी चलाउनेलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १६ गते रातिदेखि ३१ गते रातिसम्म निषेधाज्ञा जारी गरेको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख १९, २०७८ |
११:२१:०५
375