त्रिवेणीमा हेल्थ डेस्क सञ्चालन
नवलपुर, १९ वैशाख ।
गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ । उक्त हेल्थ डेस्कमा एक जना अहेब र एक जना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो ।
हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखिएको अर्यालले बताउनुभयो । गत वर्ष पहिलो लहरको कोरोना सङ्क्रमण हुँदा पनि त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो । उक्त डेस्कबाट सीमा नाका हुँदा आवतजावत गर्नेहरुको ज्वरो जाँच गर्दै उनीहरुको ठेगाना लेख्ने काम गर्ने जनाइएको छ ।
प्रदेशकै एकमात्र भारतसँग सीमा जोडिएको नाका भएकाले प्रदेश सरकारले नै स्वास्थ्यकर्मी राख्नुपर्नेमा त्यस्तो नगरी गाउँपालिकालाई नै जिम्मा दिँदा पर्याप्त स्वास्थ्यकर्मी राख्न नसकिएको गाउँपालिका अध्यक्ष डम्मर बहादुर जिसीले गुनासो गर्नुभयो । गाउँपालिकासँग सीमित बजेट हुँदा सीमा नाकाको जिम्मेवारी धान्न मुस्किल हुने उहाँको भनाइ छ । सिमानामा प्रदेश सरकारबाट नै कर्मचारी राख्नुपर्ने भए पनि सरकारले बेवास्ता गरेको जिसीले बताउनुभयो ।
गत वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण बन्द गरिएको त्रिवेणी भन्सार नाका १३ महिनासम्म खुल्न सकेको छैन । नाका नखुल्दै फेरि त्यहाँ हेल्थ डेस्क स्थापना गरिएको हो । पर्याप्त मात्रामा स्वास्थ्यकर्मी राखेर कम्तीमा भारतबाट त्यो नाका हुँदै नेपाल भित्रिनेको पीसीआर परीक्षणको व्यवस्था गर्न सके प्रभावकारी हुने जिसीको भनाइ छ ।
भारतबाट नेपाल भित्रिनेको सीमाबाटै पीसीआर परीक्षण नगरी घर पठाउँदा कोरोना सङ्क्रमणको जोखिम बढ्ने देखिएको छ । नाकामा राखिएको हेल्थ डेस्कमा कार्यरत दुई जना कर्मचारीबाट ज्वरो नाप्ने र ठेगाना लेख्नेबाहेक अरू काम हुन नसक्ने जिसीको भनाइ छ । त्रिवेणी नाकामा प्रदेश सरकारले चासो नदिएका कारण पर्याप्त स्वास्थ्य सुरक्षा अपनाउन नसकिने उहाँले बताउनुभयो ।
सीमा नाकामा प्रदेश सरकारको सहयोगबाट कडाइ गर्न सहज हुने भन्दै अध्यक्ष जिसीले नाकामा कडाइ गरेमात्रै कोभिड न्यूनीकरणमा सफलता मिल्ने बताउनुभयो । सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई प्रभावकारी बनाउन समेत प्रदेश सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष जिसीको भनाइ छ ।