महाभारत गाउँपालिकाका चार वटा वडाको पक्की भवनः चार निर्माणाधीन

बनेपा, १९ वैशाख ।

काभ्रेपलाञ्चोक जिल्लाको विकट महाभारत गाउँपालिकाले सबै वडामा पक्की वडा कार्यालयको भवन निर्माणलाई तीव्रता दिएको छ । वडा कार्यालयका लागि प्रयोगमा ल्याइएका भाडाको कोठा कच्ची घर तथा सानो साँघुरो कोठाबाट काम चलाउनुपर्दा सेवाग्राहीलाई सहजता नहुने र कागजातको समेत सुरक्षामा समस्या हुने भएकाले पक्की भवन निर्माणलाई तीव्रता दिइएको पालिकाले जनाएको छ ।
अहिलेसम्म चार वटा वडा कार्यालयको भवन निर्माण भइसकेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । त्यसका लागि वाग्मती प्रदेश सरकार, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र स्वयं गाउँपालिकाबाट गरी आठ वटा नै वडा भवन निर्माणका क्रममा रहेको अध्यक्ष जिम्बाको भनाइ छ । उहाँका अनुसार वडा नं २, ३ ५ र ७ को प्रदेश सरकारका सहयोगमा निर्माण सम्पन्न भइसकेको तथा बाँकी १, ४, ६ र ८ को जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भइरहेको छ । जिल्लाको विकट क्षेत्र डाँडापारिको महाभारत गाउँपालिकाका सबै वडामा वडा कार्यालय भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढिरहेको छ ।
वडा नं ५ चारकिल्लामा वडा कार्यालयका लागि पक्की भवन निर्माणपछि बुधवार उद्घाटन गरी कार्यसञ्चालनमा ल्याइएको छ ।
वडा कार्यालयको भवन नहुँदा सेवाग्राहीलाई सेवा दिन कठिनाइ झेल्नु परेकामा अब कार्यालय भवन निर्माणपछि सहज भएको वडा नं. ५ का वडाध्यक्ष रवीन मोक्तानले बताउनुभयो ।
वाग्मती प्रदेश सरकारको विशेष अनुदानमा पालिकाका चार वटा वडाको भवन निर्माण गर्न पाइएको बजेटबाट निर्माण गर्न पाएको वडा भवन नै यो पहिलो हो । त्यस्तै गाउँपालिका वडा नं २ को वडा कार्यालय मङ्गलबार उद्घाटन गरी आफ्नै भवनबाट सेवा दिइएको छ । वडा नं २ को स्याप्लेडाँडामा कार्यालय भवन निर्माणपछि गाउँपालिकाका अध्यक्ष जिम्बाले उद्घाटन गरी सेवा प्रवाह थालनी गरिएको वडाध्यक्ष मीनबहादुर वाइबाले बताउनुभयो ।
त्यस्तै वडा नं ३ को कार्यालय पनि निर्माण सम्पन्न भएर यही वैशाख ९ गते उद्घाटनपछि सेवा दिन थालिएको छ । उता त्यस्तै समस्या रहेको वडा नं ७ को कार्यालय पनि निर्माण सम्पन्न भइसकेकोले अब छिट्टै सेवा दिने तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिसिं विष्टका अनुसार निर्माणाधीन वडा कार्यालयमध्ये वडा नं १ को डिपिसी भइसकेको, वडा नं ६ को एक ढलान भइसकेको, वडा नं ८ को ढलान भइसकेको र वडा नं ४ को दुई ढलान शुरु गर्ने प्रक्रियामा रहेको छ । उहाँका अनुसार निर्माणाधीन सबै कार्यालयको यही असार मसान्तभित्र निर्माण सम्पन्न गरी आफ्नै कार्यालयबाट सेवा प्रवाह गर्ने तयारी छ ।