अझै सञ्चालन हुन सकेन नारायणगढ बुटवल खण्ड : गैँडाकोटमा डाइभर्सन मर्मतको काम हुँदै
नवलपुर, १८ असार ।
अविरल वर्षपछि आएको बाढीले पूर्वपश्चिम राजमार्गको गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन हिजो (बिहीबार) बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो ।
बिहीबार साँझ मोटरसाइकल चल्नमिल्ने गरी निर्माण गरिएको नयाँ डाइभर्सनमा ट्याक्टर फसेपछि राजमार्ग पुनः अवरुद्ध बनेको छ । हिजो बिहान साढे १० बजेदेखि राजमार्गको सो सडक अवरुद्ध भएको हो । गैँडाकोट–१० मा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरभद्र नाथले फसेको ट्याक्टर निकालेर डाइभर्सन मर्मतको काम भइरहेको जानकारी दिनुभयो ।
सुरक्षा निकायले जेसिभीको सहायताले एकतर्फी भए पनि सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी काम गरिरहेको नाथले बताउनुभयो । पूर्वपश्चिम राजमार्गको यस खण्डमा आज बिहान ७ बजेसम्म पनि सवारीसाधन सञ्चालन हुन नसक्दा सडकमा पूर्व र पश्चिम जाने सवारीसाधनको करिब चार किलोमिटर भन्दा लामो लाइन छ । राजमार्ग विस्तारका लागि साना पुलहरु हटाएर नयाँ मोटरेबल पुल निर्माण गर्ने क्रममा सवारी साधन सञ्चालका लागि बनाइएको डाइभर्सन बाढीले बगाएको थियो ।
गैँडाकोटको थुम्सी क्षेत्रमा निर्माण गरिएको २३ स्मृति पुल सहित विभिन्न चार स्थानको डाइभर्सन बाढीले बगाउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको थियो । लामो समयसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा पनि सवारीसाधन सञ्चालन गराउने गरी प्रभावकारी ढङ्गले काम हुन नसकेको भन्दै चालकहरुले गुनासो गरेका छन् । सवारीसाधन व्यवस्थापनका लागि ट्राफिक प्रहरीले पूर्व जाने सवारी साधनलाई डण्डा र पश्चिम जाने सवारीसाधनलाई गैँडाकोटतर्फ नै रोकेर राखेको छ ।
बाढीले बगाएको डाइभर्सन पुनःनिर्माण गरेर सवारीसाधन सञ्चालन गर्नका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म, नारायणगढ बुटवल सडक विस्तार आयोजनाका कर्मचारी खटिएका छन् ।