भारतमा कोरोना संक्रमित मृतकको संख्या ४ लाख नाघ्यो, सक्रिय संक्रमित घट्दै
एजेन्सी, १८ असार ।
कोभिड-१९ बाट अति प्रभावित मुलुकमध्ये कुल संक्रमितको संख्या हेर्दा भारत दोस्रो स्थानमा छ । त्यहाँ हालसम्म ३ करोड ४ लाख ५८ हजार २५१ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या हेर्दा भारत तेस्रो स्थानमा छ । पछिल्लो विवरण अनुसार भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । त्यहाँ बितेको २४ घण्टामा ८५३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै मृतकको कुल संख्या ४ लाख ३१२ पुगेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ६१७ नयाँ संक्रमित थपिएका छन् भने ५९ हजार ३८४ जना कोरोनाबाट निको भएका छन् । हालसम्म कुल २ करोड ९५ लाख ४८ हजार ३०२ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।
हाल भारतमा संक्रमणमुक्त हुने दर ९६.९७ रहेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या निरन्तर घटिरहेको छ । त्यहाँ हाल ५ लाख ९ हजार ६३७ जना सक्रिय संक्रमित छन् ।
विश्वभरको आंकडा हेर्दा कोभिड-१९ बाट संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा धेरै छ । त्यहाँ हालसम्म कुल ३ करोड ४५ लाख ६१ हजार ४०३ जनामा कोरोना पुष्टि भएको छ भने ६ लाख २० हजार ६४५ जनाको मृत्यु भएको छ ।
त्यस्तै, कुल सक्रमितको संख्या धेरै भएका मुलुकमध्ये तेस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म १ करोड ८६ हलाख २२ हजार ३०४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । तर मृतकको संख्या हेर्दा ब्राजिल दोस्रो स्थानमा रहेको छ । त्यहाँ हालसम्म ५ लाख २० हजार १८९ जनाको कोरोनाबाट ज्यान गएको छ ।
वर्ल्डोमिटरका अनुसार विश्वभर अहिलेसम्म कुल १८ करोड ३४ लाख २७ हजार ८८४ जनामा कोभिड पुष्टि भएको छ । यसमध्ये १६ करोड ७९ लाख ३६ हजार १२४ जना निको भएका छन् । हालसम्म विश्वभर कुल ३९ लाख ७१ ५९४ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।