मुग्लिन नारायणगढ सडकमा फेरि पहिरो : आज सडक सञ्चालन नहुने
चितवन, १८ असार ।
मुग्लिन नारायणगढ सडक खण्डको चारकिलोमा पुनः पहिरो गएर सडक अवरुद्ध भएको छ । आज बिहानै गएको पहिरो हटाउने क्रममा पुनः माथिबाट पहाड नै खसेको ट्राफिक प्रहरीले जनाएको छ ।
आज दिउँसो करिब ३ः३० बजेको समयमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहान खसेको पहिरो पन्छाएर नसक्दै पुनः पहिरो खसेका कारण आज पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गर्न नसकिने प्रहरीले जनाएको हो ।
इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा हिजोदेखि निरन्तर पहिरो गइरहेकाले सो सडक पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । सडक सञ्चालनमा नआउँदै फेरि पहिरो झरेपछि मुग्लिन नारायणगढ सडकको वैकल्पिक सडक प्रयोग गर्न समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ । मुग्लिन नारायणगढ सडकको चारकिलो, पाँचकिलो, कालीखोलालगायतका विभिन्न स्थानमा पहिरोको जोखिम कायम नै छ ।