पत्रकार महासङ्घ नवलपुरको स्थापना दिवस वृद्धाश्रममा

नवलपुर, १९ फागुन ।

नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाले दोस्रो स्थापना दिवस ज्येष्ठ नागरिकहरुसँग मनाएको छ । शाखाले मङ्गलबार वृद्धाश्रममा फलफूल वितरण गरी दोस्रो स्थापना दिवस मनाएको हो । नवलपरासी जिल्ला दुई भागमा विभाजन भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा २०७५ फागुन १८ गते नेपाल पत्रकार महासङ्घ नवलपुर गठन गरिएको थियो ।
विसं २०७५ फागुन १८ गते स्थापना भएको शाखाले दोस्रो स्थापना दिवसको अवसर पारी कावासोतीको पिठौलीमा रहेको लक्ष्मीनारायण बृद्धाश्रममा फलफूल वितरण गरेको थियो । दिवसका अवसरमा शुभकामना दिँदै नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष होमराज रानाभाटले श्रमजीवी पत्रकारहरुको मुद्दामा महासङ्घ सधैँ एक भएर अघि बढ्ने बताउनुभयो । श्रमजीवीको मुद्दालाई मूर्त रुप दिनका लागि सबैको साथ र एकता आवश्यक भएको भन्दै दोस्रो स्थापना दिवसले थप एकता र जनताको आवाज उठान गर्ने हौसला सबैलाई मिलोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष रानाभाटले नेपाल पत्रकार महासङ्घ सबैको साझा सङ्गठन भएकाले सबै पत्रकारको महासङ्घमा अपनत्व हुने गरी काम गर्दै जाने बताउनुभयो । स्थापना दिवसको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका कोषाध्यक्ष दीपक भट्टराईले स्थापना दिवसको दिन बृद्धाश्रममा फलफूल वितरण गरिनुले समाजमा सकारात्मक कार्यको थालनी भएको बताउनुभयो । सबै खाले नागरिकको मुद्दामा कलम चलाउने पत्रकारले आगामी दिनमा पनि समाज परिवर्तनका लागि कलम चलाउनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।
पत्रकार महासङ्घ सबै पत्रकारहरुको छाता सङ्गठन भएकाले पत्रकारको हक हितका लागि सधैँ लाग्नु पर्नेमा भट्टराईले जोड दिनुभयो । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासङ्घ नवलपुरका उपाध्यक्ष श्रीराम सिग्देल, कोषाध्यक्ष ईश्वरी चापागाईं, राससका स्थानीय समाचारदाता दयाराम आचार्यलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । महासङ्घ नवलपुर शाखाले आफ्नो पहिलो स्थापना दिवस विसं २०७६ फागुन १८ मा मध्यविन्दु–१ को शान्ति आधारभूत विद्यालय सेतापानीमा आवासीय रुपमा अध्ययन गरिरहेका अनाथ बालबालिकाका लागि खाध्यान्न सहयोग गरी मनाएको थियो ।