खैरहनीमा ७ सय बढी पशुको उपचार

चितवन,१९ फागुन  ।

पूर्वी चितवनको खैरहनी नगरपालिकामा बुधवार आयोजित पशु स्वास्थ्य तथा वाँझोपन निवारण शिविरमा ७ सय भन्दा वढि पशुको उपचार गरिएको छ । नगरपालिकाको वडा नम्वर २ लदरीमा आयोजित शिविरमा कुल ७ सय १५ वटा गाई,भैसी र वाख्राको स्वास्थ्य परिक्षण गरि औषधि वितरण गरिएको हो । खैरहनी नगरपालिकाको आयोजना तथा कृषक परोपकार दुग्ध उत्पादक सहकारी संस्था, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र भरतपुर,प्राईभेट पाराभेट्स खैरहनीको सहयोगमा शिविर संचालन भएको थियो । सो शिविरमा ३१० वटा गाई,१९० वटा भैसी र २१५ वटा वाख्राको स्वास्थ्य परिक्षण गरिएको खैरहनी नगरपालिका पशुपंक्षी विकास शाखा प्रमुख रुद्रकुमार श्रेष्ठले जानकारी दिए । परिक्षण गराएका गाई मध्ये अधिकांशमा रिपिट व्रिडिङ (पटक पटक उल्टने ) समस्या देखिएको श्रेष्ठले वताए । शिविरमा डाक्टर दयाराम चापागांई,डाक्टर टिकाराम न्यौपानेसहितको टोलीले पशुको स्वास्थ्य परिक्षण गराएको थियो । साथै कुपोषित गाईलाई जुका मार्ने औषधी,भिटामिन,लिभरटोनिक लगायतका औषधी निशुल्क वितरण गरिएको पशुपंक्षी विकास शाखा प्रमुख श्रेष्ठले वताए । औषधी वितरणमा औषधी कम्पनीहरुले सहयोग गरेका थिए । खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाको प्रमुख आतिथ्यता तथा वडा नम्वर २ का वडाध्यक्ष टिकादत्त इटनीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।