वैदेशिक रोजगारीको सामाजिक असर

चितवन, २१ चैत ।
वैदेशिक रोजगारीका कारण सिर्जित सामाजिक लागत डरलाग्दो रहेको सरोकारवालाहरुले बताएका छन् । रेमिट्यान्स भित्रिए पनि सँगै वैदेशिक रोजगारीले सामाजिक रोग पनि भित्र्याएको उनिहरुले औंल्याएका हुन् ।
परिवार तथा बालबच्चाबाट टाढा हुने, बालबच्चा र वृद्ध सदस्यको हेरचाहमा कमि भएको, महिलालाई सामाजिक लाञ्छना लगाउने, मानसिक तनाव र समस्याका साथै पारिवारिक बेमेल वढेको उनिहरुले बताएका हुन् । सुरक्षित आप्रवासन परियोजना अन्र्तगत हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफमा वैदेशिक रोजगारीको सामाजिक असर सम्बन्धी अन्तरक्रियामा सामी÷हेल्भेटासका प्रदेश संयोजक उमा शर्माले सामाजिक सञ्जाल, युट्युब, फेसबुक, अनलाईत तथा सञ्चार माध्यममा प्रशारण गर्ने सामग्रीले सामाजिक लागतलाई बढावा दिईरहेको बताउँदै हरेक व्यक्तिले गलत मानसिकता त्याग्नुपर्ने बताउनुभयो । सामाजिक समस्या कम गर्न सकरात्मक सन्देश प्रवाह गर्ने सामग्री प्रशारण गर्न उहाँको आग्रह छ ।
कार्यक्रमका अध्यक्ष हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफका कार्यकारी निर्देशक कृष्णप्रसाद घिमिरेले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न स्थानीय अभियानकर्ताहरु, पत्रकार, जिल्ला प्रशासन, स्थानीय पालिका लगायत जिम्मेवार निकाय सबै गम्भिर बन्नुपर्ने बताउनुभयो ।
सुरक्षित आप्रवासन परियोजनाका संयोजक रितुराम सोतीले नवलपुरबाट गत आर्थिक वर्षमा मात्रै ८ हजार २ सय ६९ जनाले विदेश जान पासपोर्ट बनाएको जानकारी दिनुभयो । उहाँका अनुसार ३ हजार १ सय ५ जना महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा सबैभन्दा धेरै गैँडाकोटका २ हजार ४८ जनाले पासपोर्ट बनाएको उहाँको भनाई छ । नवलपुरमा दैनिक ३० जनाले पासपोर्ट बनाउने गरेको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा उपस्थित जिल्लाका अभियानकर्ताहरु, पत्रकार, विभिन्न पालिकाका न्यायिक समिति सदस्य, परियोजनाका मनोपरामर्शदाताहरुले समाजमा देखेका सामाजिक लाञ्छनाका घटनाका विषयमा जानकारी गराउँदै सिर्जित समस्याका विषयमा अवगत गराएका थिए ।
जिल्लाबाट भिजिट भिषामा विदेश जानेको सङ्ख्या वढेको वढेको, महिलाहरु घरेलु काममा जानेको सङ्ख्या वढेको भन्दै चिन्ता व्यक्त गरेका थिए । पासपोर्ट बनाउनेहरुलाई आप्रवासी स्रोत केन्द्रका माध्यमबाट परामर्श गर्ने गरिएको छ । केन्द्रमा यसवर्ष वैदेशिक रोजगारीका सिलसिलामा समस्या परेको भन्दै परेका ५१४ उजुरी मध्ये ३४२ ठगीका रहेको समेत सो अवसरमा जनाईएको छ ।
हेल्भेटास, सामी र स्थानीय पालिकासँगको सहकार्यमा हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ अन्तर्गत सुरक्षित आप्रवासन परियोजना जिल्लाका कावासोती, गैँडाकोट, मध्यविन्दु र विनयी त्रिवेणी गरि ४ वटा पालिकामा सञ्चालनमा रहेको आप्रवासी स्रोत केन्द्रका परामर्शदाता रञ्जना लम्सालले जानकारी दिनुभयो ।