खोरसोरमा नारायणीकलीले छावा जन्माइन्
नवलपुर, २० वैशाख ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा स्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा रहेको हात्तीले छावा जन्माएको छ ।
प्रजनन केन्द्रमा रहेको नारायणीकली हात्तीले आज बिहान २ः०० बजे छावा जन्माएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । सुत्केरी हात्ती र उनको छावा (भाले)को अवस्था स्वस्थ तथा स्फूर्त रहेको अधिकारीले बताउनुभयो । सुत्केरी हात्तीको स्याहारका लागि ३ जना हात्तीसार कर्मचारी खटाइएको अधिकारीको भनाइ छ ।
नारायणीकली हात्ती निकुन्जकै बगाई माडी सेक्टर कार्यालय माडीमा खटिएको बेला गर्भवती भएकाले उनलाई कामकाज फिर्ता गरी खोरसोर प्रजनन केन्द्रमा राखेर स्याहार सुसार गरिँदै आएको अधिकारीले बताउनुभयो । नारायणीकलीले यसअघि माडीगज र लक्कीगज नामका दुई वटा हात्तीलाई जन्म दिइसकेकी छिन् । ती दुवै हात्ती भरखरै सम्पन्न राष्ट्रिय गैँडा गणना २०७७ मा समेत सहभागी भएका निकुञ्जले जनाएको छ ।
खोरसोरमा यो नवजात छावा हात्तीसँगै १० वटा बच्चा हात्ती पुगेका छन् । नवजात छावासहित चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको कुल सङ्ख्या ५१ वटा तथा कोशीटप्पु वन्यजन्तु आरक्षबाट कामकाजमा खटिएका ६ वटा गरी जम्मा ५७ वटा हात्ती पुगेका अधिकारीले बताउनुभयो । तस्वीर संलग्न छ ।