चितवनमा नयाँ भेरियन्टसहितका कोरोना संक्रमित बढ्दै, एकै दिन थपिए १६६ जना
चितवन, २० वैशाख ।
चितवनमा समेत नयाँ भेरियन्टसहितका कोरोना संक्रमित तीव्र रुपमा बढेका छन् । जिल्लाका तीन वटा अस्पतालमा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा चितवनका १६६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लामा पीसीआर परीक्षणका क्रममा १५७ तथा एन्टिजिन परीक्षणबाट नौ जनामा संक्रमण पुष्टि भएको हो । १६६ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या एक हजार २११ पुगेको छ । सक्रिय संक्रमितमध्ये ९३ जना अस्पतालको आइसोलेसन तथा एक हजार ११८ जना होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए ।
हालसम्म जिल्लामा आठ हजार २१२ जनमा संक्रमण देखिएको छ भने ६ हजार ८८३ जना निको भएर घर फर्किदा ११८ जनाले ज्यान गुमाएका छन् । सक्रिय संक्रमितमध्ये भरतपुरका एक हजार १३, रत्ननगरका ८८, खैरहनीका ३८, राप्तीका २७, माडीका २१, कालिकाका १५ तथा इच्छाकामनाका ९ जना रहेका छन् ।
यसैबीच चितवनका तीन वटा अस्पतालले चितवन सहित विभिन्न जिल्लाका २२० जना कोरोना संक्रमितको उपचार गरिरहेका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाको भरतपुर अस्पतालमा १०६ जना संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीकाअनुसार अस्पतालले कोरोना संक्रमितको उपचारका लागि १० शय्याको आईसीयू, २५ शय्याको एचडीयू र ७५ शय्याको जनरल वाडको व्यवस्था गरेकोमा आईसीयूमा १०, एचडीयूमा २४ तथा जनरल वाडमा ७२ जना संक्रमितको उपचार भइरहेको छ ।
त्यस्तै, चितवन मेडिकल कलेजमा ७८ जना संक्रमितको उपचार भइरहेको छ । चितवन मेडिकल कलेजमा २६ शय्याको क्रिटिकल केयर, ३८ शय्याको आईसीयू, ५० शय्याको एचडीयू तथा २५ शय्याको कोभिड वाड रहेकोमा आईसीयूमा ३६, भेन्टिलेटरको सहायताले ९, एचडीयूमा ८ तथा कोभिड वाडमा २५ जनाको उपचार भइरहेको छ । सो अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण तीन जनाले ज्यान गुमाएका तिवारीले जानकारी दिए ।
त्यसैगरी, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा ३६ जना संक्रमितको उपचार भइरहेको छ । कोभिड उपचारका लागि छुट्याइएको १६ शय्याको कोभिड आईसीयू, ६ शय्याको एनआईसीयू र ७८ शय्याको एचडीयूू रहेको पुरानो मेडिकल कलेजमा आईसीयूमा १८, भेन्टिलेरटको सहायतामा ४ तथा एचडीयूमा १४ जनाको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत संक्रमितमध्ये एक जनाले ज्यान गुमाएका तिवारीले बताए ।