मुग्लिन नारायणगढ सडकको ठाउँठाउँमा पहिरो : वैकल्पिक सडक प्रयोग गर्न आग्रह
चितवन, १९ असार ।
केही दिनदेखि निरन्तर रुपमा परेको पानीका कारण मुग्लिन नारायणगढ सडकको विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार चारकिलोको पहिरो हटाएर नसक्दै पुनः चौधकिलो, सेतीदोभान, घोप्टेभिर लगायतका स्थानमा माथिबाट पहिरो खसेर बाटो दुईतर्फी नै अवरुद्ध भएको हो ।
मुग्लिन नारायणगढ सडकमा खसेको पहिरो हटाउन समय लाग्ने भन्दै प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । “पहिरोका कारण मुग्लिन नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको छ, बाटो खुल्न समय लाग्छ” जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले भने, “यस सडकखण्ड भई यात्रा गर्नु अगाडि बाटोको अवस्था बुझेर यात्रामा निस्कनु होला अथवा अत्यावश्यक र ईमरजेन्सी सवारी साधनहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुहुन समेत अनुरोध गर्दछौँ । निरन्तर वर्षाका कारण बिहीबारदेखि यो सडक पटकपटक अवरुद्ध हुँदै आइरहेको छ ।