३० घण्टामा नारायणगढ मुग्लिङ सडक पार गरेका यात्रुलाई गैँडाकोटमा पुनः सास्ती
चितवन, १९ असार ।
पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिङ सडक खण्ड ३० घण्टामा पार गरेका यात्रुलाई गैँडाकोट पुगेर फेरि सास्ती खेप्नु परेको छ । पहिरोको जोखिमकै बीच रात कटाएर करिब ३० घण्टा लगाएर नारायणगढ मुग्लिङ सडक पार गरेका यात्रु नवलपुरको गैँडाकोटमा पुगेर फेरि सवारी जाममा बस्नुपरेको छ ।
बुटवल नारायणगढ सडकखण्ड विस्तारको काम सुरु भएसँगै विभिन्न स्थानमा पुल निर्माणको काम भइरहेको छ । गैँडाकोट नगरपालिका वडा नम्बर १० स्थित २३ स्मृतिसहित विभिन्न सात स्थानमा पुलको निर्माणको लागि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिदै आएको थियो । उक्त डाइभर्सन १७ गतेको बाढीले भत्काएपछि उक्त स्थानमा सवारी आवागमन प्रभावित हुँदै आएको छ । त्यसैको मारमा परेका छन् घण्टौँ लगाएर नारायणगढ मुग्लिङ सडक खण्ड पार गरेका बझाङका जनक बहादुर थापा ।
१७ गते राति काठमाडौंबाट धनगढीको यात्रामा निस्केका थापा १९ गते दिउँसोसम्म गैँडाकोटमै थिए । १८ गते बिहानैदेखि नारायणगढ मुग्लिङ सडकखण्डमा रोकिएका थापा १९ गते बिहान उक्त सडकखण्ड पार त गरे तर गैँडाकोटको जाममा परे । काठमाडौंबाट बिहीबार निस्केको शनिबारसम्म बाटो मै छु भन्दै थापाले गुनासो गरे । बाटोमा रोकिदा खाना र पानीको समस्या रहेको उनले बताए । सामान्यता २० रुपैयाँमा पाइने पानी त्यहाँ ४० रुपैयाँमा बिक्री भइरहेको थियो ।
२३ स्मृति पुलको जाम पार गर्न करिव ५ घण्टा लागेको यात्रुहरुले बताए । उक्त स्थानमा सवारीसाधन तथा यात्रुहरु घण्टौं जाममा पर्ने गरेका छन् । डाइभर्सन मर्मत गर्दै केहिबेर सवारी एकतर्फी चलाउने फेरि मर्मत गर्दै केहिबेर चलाउने काम भइरहेको छ । बर्खा लागेकोले ठूलो पानी पर्नासाथ सवारीसाधन आवागमन प्रभावित हुने निश्चित छ तर यात्रुले अझै कति समय दुःख पाउने हुन् त्यो भने निश्चित छैन ।