ओली सरकारविरुद्ध शसक्त प्रदर्शन गर्न ७७ वटै जिल्लालाई तरुण दलको निर्देशन

काठमाडौं, २० पुष।

नेपाल तरुण दलले ओली सरकार विरुद्ध माउ पार्टीले राखेको विरोध प्रदर्शनमा सक्रिय सहभागिता जनाउन मातहतका संगठनलाई दिर्नेशन दिएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै दलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर गरेको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधका लागि सबै ७७ वटै जिल्लालाई निर्देशन दिएको हो ।

अध्यक्ष जितजंग बस्नेतद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि नेपाल तरुण दलको त्यस जिल्ला समितिले जिल्ला पार्टी संग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न निर्देशन गर्दछ ।’

कांग्रेसले पुस २५ गते शनिबार ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्दैछ। त्यस्तै माघ ३ गते शनिबार ७५३ वटै पालिकाहरुमा र माघ ८ गते बिहीबार ७५३ पालिकाहरुका ६ हजार ७४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।