ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले दिन्न : वरिष्ठ नेता पौडेल
चितवन, २० फागुन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले नदिने बताउनुभएको छ ।
आज बिहान भरतपुरमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले प्रचण्ड–माधव समूहलाई साथ दिन सकिने बताउनुभयो । पौडेलले ओलीबाहेक अरुसँग समझदारी गरेर अहिलेको संकटलाई निराकरण गर्नुपर्ने धारणा राख्नुभएको हो । ओलीले संविधान र व्यवस्थालाई जोखिममा पारेको बताउँदै पौडेलले यत्रो जोखिममा पार्ने व्यक्तिलाई अहिले सपोर्ट गर्न कांग्रेसको नैतिकताले नदिने बताउनुभयो ।
वर्तमान संकटको अवस्थामा काँग्रेसले अरुलाई सहयोग गरेर पनि समाधान निकाल्न सकिने भन्दै नेता पौडेलले काँग्रेमात्रै हुन्न भनेर सोच्दा काँग्रेस भूमिकाविहीन हुनसक्ने बताउनुभयो । ‘कांग्रेसले आफैमात्रै हुनुपर्छ भन्ने सोच्यो भने काँग्रेस फेरि भूमिकाविहीन हुनसक्छ, अरुको खेलौना बन्नसक्छ’ नेता पौडेलले भन्नुभयो, ‘त्यसकारण कांग्रेसले आफ्नो ठाउँमा आफ्नो हैसियतमा रहेर अरुलाई पनि सरकार चलाउनलाई सघाउ पु¥याइदियो भने त्यसमा काँग्रेसको भूमिका अझै महत्वपूर्ण हुन्छ ।’
केपी ओलीले देशलाई जोखिममा पार्नुभएको संविधानलाई जोखिममा पार्नुभएको व्यवस्थालाई जोखिममा पार्नुभएको भन्दै नेता पौडेलले यत्रो जोखिममा पार्ने व्यक्तिलाई समर्थन गर्नु कांग्रेसको नैतिकताले नदिने पौडेलको भनाइ थियो ।
वरिष्ठ नेता पौडेलले पत्रकार सम्मेलनमा सभापति देउवाले भनेको जस्तो प्रधानमन्त्री पद पार्टीले लिन सजिलो नभएको बताउनुभयो । देउवाले आज दिउँसो पदाधिकारी बैठक बोलाएको सन्दर्भमा पौडेलले किन र केका लागि कांग्रेस सरकारमा जाने भन्ने प्रश्न पनि उठान गर्नुभएको छ । देश संकटपूर्ण अवस्थामा रहेकोले यसलाई पार लगाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने भन्दै पौडेलको आज बस्ने पदाधिकारी बैठकमा समग्र विषयबारे छलफल गर्ने बताउनुभयो ।