पत्रकार महासंघ चितवनको निर्वाचन, अध्यक्षमा तीन जनाको उम्मेदवारी
चितवन, २२ चितवन ।
आगामी चैत २५ गते हुने नेपाल पत्रकार महासंघ चितवनको निर्वाचनका लागि अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । आइतबार भएको मनोनयनमा एक जना स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी परेको हो ।
निर्वाचन समिति संयोजक जनक अर्यालकाअनुसार प्रेस चौतारी सहितको गठबन्धनबाट तिलक रिमालको नेतृत्वमा प्यानल तथा प्रेस युनियन सहितको गठबन्धनबाट नारायण अधिकारीको नेतृत्वमा प्यानलले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै स्वतन्त्र रुपमा सूर्यप्रकाश कँडेलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका अर्यालले जानकारी दिए । प्रेस चौतारी नेपाल चितवनलाई मिडिया नेपाल चितवन र जनपत्रकार सङ्गठनको साथ छ भने प्रेस युनियन चितवनलाई प्रेस सेन्टर र नेकपा एमालेको माधव नेपाल पक्षका पत्रकारहरुको साथ छ ।
आइतबार भएको मनोनयनका क्रममा खुला उपाध्यक्षका लागि तीन, समावेशी उपाध्यक्षका लागि दुई, सचिवका लागि दुई, सहसचिव खुलाका लागि चार, सहसचिव समावेशीका लागि दुई तथा कोषाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्ष खुलामा रामकान्त पौडेल, प्रकाशमणि ज्ञवाली र विनोदबाबु रिजालको उम्मेदवारी परेको छ भने समावेशी उपाध्यक्षमा शान्ता अधिकारी ‘बी’ र प्रमिता ढकालको उम्मेदवारी परेको छ । सचिवमा भने दीपेन्द्र अधिकारी र अनिल ढकालको उम्मेदवारी परेको अर्यालले बताए ।
त्यसैगरी, कार्यसमितिको सहसचिवमा खुलातर्फ आनन्द पोखरेल, टीकादत्त तिमिल्सीना, प्रस्ताव सुवेदी र राजु सापकोटाको उम्मेदवारी परेको छ भने समावेशी उपाध्यक्षमा अमिर रामदाम र उर्गेन तामाङको उम्मेदवारी परेको छ । कार्यसमिति कोषाध्यक्षमा गोविन्द घिमिरे, राजेन्द्र आचार्य र राजेश घिमिरेको उम्मेदवारी परेको छ । महासंघको विधानअनुसार अध्यक्षमा एक, उपाध्यक्ष खुलामा एक, समावेशी उपाध्यक्षमा एक, सचिवमा एक, खुला सहसचिवमा एक, समावेशी सहसचिवमा एक र कोषाध्यक्षमा एक जना निर्वाचित हुनेछन् ।
त्यसैगरी, सदस्यतर्फ महिला सदस्यमा दुई, दलित सदस्यमा दुई, आदिवासी जनजाति सदस्यमा दुई, मधेशी सदस्यमा दुई, अन्य समावेशीमा एक र खुला सदस्यमा १९ जनाको उम्मेदवारी परेको अर्यालले बताए । पत्रकार महासंघ चितवनमा महिला सदस्य एक, दलित सदस्य एक, आदिवासी जनजाति सदस्य एक, मधेशी सदस्य एक, अन्य समावेशी सदस्य एक र खुला सदस्य आठ जना निर्वाचित हुने अर्यालले बताउनुभयाे ।