चितवनमा एकै दिन २३३ जनामा कोरोना सङ्क्रमण, तीन जनाको मृत्यु

चितवन, २१ वैशाख ।
पछिल्लो २४ घण्टामा चितवनका २३३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । चितवनका विभिन्न अस्पतालमा गरिएको परीक्षणका क्रममा चितवनमा २३३ जना सङ्क्रमित थपिएका हुन् । त्यस्तै कोरोना भाइरसका कारण चितवनका तीन जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका हुन् । भरतपुरका १८८ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै, रत्ननगरमा २१, खैरहनीमा ९, कालिकामा ८, माडीमा ९ र राप्तीमा ३ जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा इच्छाकामनामा भने नयाँ सङ्क्रमित भेटिएका छैनन् ।
चितवनमा हालसम्म सक्रिय सङ्क्रमित संख्या एक हजार ४०४ जना पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये ८९ जना अस्पतालको आइसोलेसन तथा एक हजार ३१५ जना होम आइसोलेसनमा बसेका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले समावेशी खबरलाई जानकारी दिए । जिल्लामा आठ हजार ४४५ जना सङ्क्रमित पुग्दा ६ हजार ९२० जना निको भएका तथा १२१ जना सङ्क्रमितको मृत्यु भएको तिवारीले बताए ।
भरतपुर महानगरपालिकामात्रै ६ हजार २७५ जना सङ्क्रमित पुगेका छन् । त्यस्तै रत्ननगरमा ९०५, खैरहनीमा ४६७, राप्तीमा ३५४, कालिकामा २२२, माडीमा १७३ तथा इच्छाकामनामा ४९ जना सङ्क्रमित पुगेका तिवारीले बताए । तिवारीकाअनुसार जिल्लामा सङ्क्रमितमध्ये चार हजार ८८७ जना पुरुष तथा ३५५३ जना महिला रहेका छन् ।