चितवनका अस्पतालमा २१६ सङ्क्रमितको उपचार हुँदै, १२ जना भेन्टिलेटरमा

चितवन, २१ वैशाख ।
चितवनका विभिन्न चार वटा अस्पतालमा गरी २१६ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालमा रहेका कोरोना सङ्क्रमितमध्ये ८९ जना चितवनका भए पनि अन्य सङ्क्रमितहरु चितवन बाहिरका रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
जिल्लामा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले कोरोनाका बिरामीहरुको उपचार गर्दै आइरहेको छ । कोरोना उपचारका लागि भरतपुर अस्पतालले १० शय्याको आईसीयू, २५ शय्याको एचडीयू र १०० शय्याको जनरल वाडसहित १३५ शय्या, चितवन मेडिकल कलेजले २६ शय्याको क्रिटिकल केयर, ५७ शय्याको आईसीयू, ७१ शय्याको एचडीयू तथा २५ शय्याको कोभिड वार्डसहित १७९ शय्या, कलेज अफ मेडिकल साइन्सेसले १६ शय्याको कोभिड आईसीयू, ६ शय्याको एनआईसीयू तथा ७८ शय्याको एचडीयूसहित १०० शय्या र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले २० शय्याको जनरल वाड छुट्याएका छन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बाहेक अन्य अस्पतालले कोरोनाका बिरामीलाई भनाइ गरेर उपचार गर्ने गरेका छन् भने क्यान्सर अस्पतालले त्यहाँ उपचारका लागि आएका बिरामी र बिरामी कुरुवामा कोरोना देखिएमा उपचार गर्ने गरेको छ ।
स्वास्थ्य कार्यालय चितवनकाअनुसार भरतपुर अस्पतालको आईसीयूमा १०, एचडीयूमा १९ तथा जनरल वाडमा ६७ गरी ९६ जना सङ्क्रमितको उपचार भइरहेको छ । भरतपुर अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा चार जनाले ज्यान गुमाएका भन्दै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले तीन जना चितवन तथा एक जना धनुषाका सङ्क्रमित भएको जानकारी दिए । त्यस्तै, चितवन मेडिकल कलेजको आईसीयूमा २५, भेन्टिलेटरको सहायतामा ९, एचडीयूमा ३ तथा जनरल शय्यामा ४४ गरी ८१ जनाको उपचार भइरहेको तिवारीले बताए ।
चितवन मेडिकल कलेजमा भने ३९ जना सङ्क्रमितको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये १७ जनाको आईसीयू, तीन जनाको भेन्टिलेटरको सहायतामा तथा १९ जनाको एचडीयूमा उपचार भइरहेको तिवारीले बताए । भरतपुरको क्यान्सर अस्पतालमा भने एक जनाको जनरल शय्यामा राखेर उपचार भइरहेको तिवारीको भनाइ छ । जिल्लामा उपचाररत बिरामीमध्ये ५७ जना आईसीयू, १२ जना भेन्टिलेटर, ४१ जना एचडीयू र ११२ जना जनरल शय्यामा उपचाररत रहेका तिवारीले जानकारी दिए ।
नयाँ भेरियन्ट सहित फैलिएको दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण अस्पताल पु¥याइएका सबै बिरामीलाई श्वासप्रश्वासमा समस्या भएर कृतिम अक्सिजन दिएर उपचार गराइरहेको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले बताए । सामान्य अवस्थामा घरमै आइसोलेसनमा बस्न सुझाव दिँदै अधिकारीले स्वास्थ्यमा थप जटिलता आउन नदिन चिकित्सकको सम्पर्कमा रहन आग्रह गरे । सङ्क्रमित बिरामीलाई कुनै समस्या देखिएमा तत्काल अस्पताल जानका लागि समेत अधिकारीले आग्रह गरेका छन् ।