पशुको बिमा रकम बढाउन कृषकहरुको माग
चितवन, २० असार ।
चितवका कृषकहरुले पशुधनको बिमा गर्दा बिमाङ्क रकम थोरै भएको भन्दै बढाउनुपर्ने माग गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनको आयोजनामा गरिएको इन्स्योरेन्स, बैंक र कृषकबीचको अन्तक्रिया कार्यक्रममा सहभागी कृषकहरुले पशुधनको मूल्यभन्दा ज्यादै थोरै रकमको मात्रै बिमा हुने गरिएको गुनासो गरे ।
उन्नत जातको दुहुनो गाईभैँसी खरिद गर्दा साढे एक लाखदेखि दुई लाख रुपैयाँसम्म पर्ने भन्दै कृषकहरुले बढीमा एक लाख रुपैयाँको मात्रै बिमा हुने गरेको गुनासो गरे । पशुधनको खरिद मूल्यभन्दा बिमा हुने रकम थोरै भएकाले पशुधनको क्षति भएमा आफूहरुलाई नोक्सान हुने उनीहरुको भनाइ थियो । कार्यक्रममा एनएलजी इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक भरत मल्लले आफूहरुले गरेको बिमाको पुनर्बिमा गरिदिने संस्थाले नै थोरै रकम तोकेको हुँदा कृषकहरुको चाहनाअनुसार बिमाङ्क बढाउन नसकिएको बताउनुभयो ।
एनएलजीले जर्मनीको ‘ह्यानोभर रि’सँग पुनर्बिमा गरिएको उल्लेख गर्दै मल्लले आफूले चाहेर मात्रै पशुधनको बिमा रकम बढाउन नसक्ने बताउनुभयो । बिमा गरिएको पशुधनको मृत्यु भएमा बिमा रकमको ९० प्रतिशत, पूर्ण स्थायी शक्त भएमा ५० प्रतिशत तथा थुनेलो वा बाँझोपन भएमा ३० प्रतिशत रकम क्षतिपूर्तिस्वरुप उपलब्ध गराइने बताउनुभयो । बिमा दावी गर्दा प्रकृया पूरा गरेको अवस्थामा कृषकहरुले झण्झट विनानै बिमा शुल्क भुक्तानी पाउने मल्लको भनाइ थियो ।
सो कार्यक्रममा कृषि विकास बैंक भरतपुरका वरिष्ठ व्यवसाय अधिकृत दीपक सुनारले पछिल्लो समय बिमाको क्षतिपूर्तिमा विकृति आएको बताउनुभयो । बिमा गरिएको पशुधनमा लगाइएको ट्याग नहराउन आग्रह गर्दै हराएमा तुरुन्त बिमा गरिएको कम्पनी वा प्रतिनिधिलाई जानकारी गराउनसमेत सुनारले आग्रह गर्नुभयो । सो कार्यक्रममा भेटेरिनरी अस्पतालका पशु चिकित्सक विकास श्रेष्ठले स्वागत मन्तव्य राख्दै पशु तथा बाली बिमा गरेमा बिमा गरिएको धनको क्षति हुँदा कृषकलाई क्षति कम हुने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक दयाराम चापागाईले चितवनमा व्यवस्थित पशु अस्पताल र ल्याब स्थापनाका लागि पहल भइरहेको बताउनुभयो । पछिल्लो समय नेपालमा पशु आहार व्यवस्थापन, नश्ल सुधार र स्वास्थ्य व्यवस्थामा सुधार भएको भन्दै बजार प्रबद्र्धन गर्दै कृषकको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मत्स्य कृषक, दुग्ध कृषक, घाँस कृषक, बाख्रा कृषक, बुङ्गुरपालक कृषकलगायतका कृषकहरु तथा भरतपुर, कालिका, खैरहनी, माडी तथा रत्ननगर नगरपालिकाका पशु सेवा शाखाका प्रमुखहरुको समेत सहभागिता थियो ।