कोरोना विरुद्धको दोस्रो चरणको खोप, चितवनमा ७३ वटा खोप केन्द्र
चितवन, २१ फागुन ।
कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत फागुन २३ गतेदेखि जिल्लामा ७३ स्थानबाट खोप लगाइने भएको छ । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
सो अवसरमा कार्यालयका प्रमुख दीपकबाबु तिवारीले दोस्रो चरणका लागि जिल्लामा २९ हजार डोज भ्याक्सिन प्राप्त भइसकेको बताउनुभयो । जिल्लामा अहिले ६० वर्षमाथिका ६५ हजार ६०६ जना रहेका छन् । यस तथ्यांक अनुसार ६५ वर्षमाथि उमेर समूहका अहिले जिल्लामा आएको खोपले ८० प्रतिशत नागरिकलाई पुग्ने अनुमान गरिएको तिवारीले जानकारी दिनुभयो ।
खोप अभियानमा ४७९ जना स्वास्थ्यकर्मी परिचालन हुनेछन् । जसमध्ये २५१ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र २२८ जना स्वयंसेवि स्वास्थ्यकर्मी परिचालन हुनेछन् । अभियानका क्रममा ६५ वर्षमाथिका र पहिलो चरणमा छुटपुट भएका अग्रपंक्तिमा खटिनेलाई पनि खोप लगाइने छ ।
दोस्रो चरणको खोप अभियानलाई सम्पन्न पार्नका लागि पालिका स्तरीय खोप समन्वय समितिलाई सक्रिय बनाइएको छ । खोपका लागि उमेर पुगेको परिचय पत्र अनिवार्य गरिने छ । अभियान फागुन २३ गतेदेखि २९ गतेसम्म चल्नेछ ।
पहिलो चरणमा जिल्लामा १३ हजार ५०० जनाले खोप लगाएका थिए । पहिलो चरणको पहहिलो समूहका ९२ प्रतिशतले खोप लगाएका थिए भने दोस्रो समूहका ८२ प्रतिशतले खोप लगाएका थिए । पहिलो चरणमा अग्रपङ्तिमा रहेर काम गर्नेलाई दुई समूहमा विभाजन गरेर खोप लगाइएको थियो ।
जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ हजार ८६२ जना पुगेको छ । अहिले सक्रिय संक्रमित ४९ जना रहेको कार्यालयले जनाएको छ । संक्रमित मध्ये १०९ जनाको मृत्यु भएको छ । अहिले जिल्लाको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा सक्रिय संक्रमित शून्य रहेको कार्यालयले जनाएको छ ।