कोभिड विरुद्ध दोस्रो चरणको खोपः खैरहनीका पाँच केन्द्रबाट खोप लगाइदै

चितवन, २१ फागुन ।

कोभिड विरुद्ध दोस्रो चरणको अभियानअन्तर्गत पूर्वीचितवनको खैरहनी नगरपालिकामासमेत फागुन २३ गतेदेखि कोरोना विरुद्धको खोप लगाइदैछ । ६५ वर्षमाथि उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन लागिएको हो ।
यसअघि पहिलो चरणको खोप अभियानमा स्वास्थ्यकर्मीसहित फन्टलाइनरलाई खोप लगाइएकोमा दोश्रो चरणमा ६५ वर्षमाथि उमेर समूहका मानिसलाई खोप लगाउन लागिएको नगरपालिकाले जनाएको छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीकाअनुसार नगरका पाँच वटा स्वास्थ्य संस्था मार्फत खोप लगाइनेछ । वृद्धवृद्धाहरुको सहजताका सम्बन्धित स्वास्थ्य संस्थामै खोप लगाउने व्यवस्था मिलाइएको छ ।
खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र, कठार स्वास्थ्यचौकी, कुमरोज स्वास्थ्य चौकी, चैनपुर स्वास्थ्य चौकी र खैरहनी १३ स्थित नगर स्वास्थ्य केन्द्र मार्फत तोकिएको उमेर समूहका मानिसलाई खोप लगाइने व्यवस्था मिलाइएको अधिकारीले बताए । ६५ वर्षमाथि उमेर समूहका झण्डै ४ हजार ७०० जनालाई दोश्रो चरणमा खोप लगाउन लागिएको हो । नगरको १३ वटा बडाबाट ४ हजार ६९३ जनालाई खोप लगाइने अधिकारी जानकारी दिए ।
तोकिएको स्वास्थ्य केन्द्रबाट फागुन २३ गतेदेखि २७ गतेसम्म खोप लगाइनेछ । खोप अभियानको पूर्वसन्ध्यामा शुक्रबार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेको अध्यक्षतामा नगरस्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन नगर प्रमुख लालमणि चौधरीको अध्यक्षतामा समन्वय समिति गठन गरिएको छ जसको सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी रहेका छन् ।