खैरहनीमा ५ केन्द्र,४७ सय जनालाई खोप लगाईदै

चितवन,२१ फागुन ।

पूर्वी चितवनको खैरहनी नगरपालिकामा फागुन २३ गतेदेखी कोरोना विरुद्धको खोप लगाईदैछ । ६५ वर्ष माथि उमेर समुहका मानिसलाई कोरोना विरुद्धको खोप लगाउन लागिएको हो । यसअघि डाक्टर,स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई खोप लगाईएकोमा दोश्रो चरणमा ६५ वर्ष माथि उमेर समुहका मानिसलाई खोप लगाउन लागिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीका अनुसार नगरका ५ वटा स्वास्थ्य संस्था मार्फत खोप लगाईनेछ । वृद्धवृद्धाहरुको सहजताका सम्वन्धीत स्वास्थ्य संस्थामै खोप लगाउने व्यवस्था मिलाईएको छ । खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र,कठार स्वास्थ्यचौकी,कुमरोज स्वास्थ्य चौकी,चैनपुर स्वास्थ्य चौकी र खैरहनी १३ स्थित नगर स्वास्थ्य केन्द्र मार्फत तोकिएको उमेर समुहका मानिसलाई खोप लगाईने व्यवस्था मिलाईएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले वताए । ६५ वर्ष माथि उमेर समुहका झण्डै ४ हजार ७ सय जनालाई दोश्रो चरणमा खोप लगाउन लागिएको हो ।

नगरको १३ वटा बडाबाट ४ हजार ६ सय ९३ जनालाई खोप लगाईने अधिकारी जानकारी दिए । तोकिएको स्वास्थ्य केन्द्रबाट फागुन २३ गतेदेखी २७ गते सम्म खोप लगाईनेछ । खोप अभियानको पूर्व सन्ध्यामा शुक्रवार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेको अध्यक्षतामा नगरस्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ । खोप अभियानलाई प्रभावकारी वनाउन नगर प्रमुख लालमणि चौधरीको अध्यक्षतामा समन्वय समिति गठन गरिएको छ जसको सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी रहेका छन् ।