अन्तरघर प्रतिस्पर्धाको आधारमा ५५ परिवारलाई पुरस्कार 

Samabesi1
  |   
प्रकाशित मिति: मंसिर १९, २०७८
166 Shares

आनन्द पोखरेल  । चितवन, १९ मङ्सिर । चितवनको विकट पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका वडा नम्बर १ का वासिन्दालाई अन्तरघर प्रतिस्पर्धा गराएर पुरस्कार वितरण गरिएको छ । स्थानीयको घर, स्वास्थ्य, शिक्षा, सरसफाइलगायतका विषयमा प्रतिस्पर्धा गराएर पुरस्कार वितरण गरिएको हो । 
सबै यात्राको सुरुआत एक सपनाबाट हुन्छ भन्ने परिकल्पनाका आधारमा चितवनको इच्छाकामना गाउँपालिका–१ का ५७० परिवारलाई आन्तरिक प्रतिस्पर्धा गराएर उनीहरुलाई पुरस्कार वितरण गरिएको छ । ३५ देखि ६५ परिवारलाई एउटा कलस्टर मान्दै वडा नम्बर १ मा ११ वटा क्लस्टर निर्माण गरी सपना भिलेज सोसियल इम्प्याक्टले प्रतिस्पर्धाको आधारमा पुरस्कार वितरण गरेको हो । प्रति कलस्टर ५ जनाका दरले ११ वटा कलस्टरबाट शनिबार गाउँका ५५ परिवारलाई पुरस्कृत गरिएको छ । 
पुरस्कारको रकम वापत पहिलो हुनेलाई रु १६ हजार, दोस्रो हुनेलाई रु १२ हजार, तेस्रो हुनेलाई रु १० हजार, चौथो हुनेलाई रु ७ हजार र पाँचौं हुनेलाई रु ५ हजार प्रदान गरिएको संस्थाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । त्यस्तै, फलफूल खेती गर्ने सर्वोत्कृष्ट कृषक, बाख्रा पालन गर्ने सर्वोत्कृष्ट कृषक र अघिल्लो पटक उत्कृष्ट हुँदै पुरस्कार पाएकाहरुबाट पुनः सर्वोत्कृष्ट हुने परिवारलाई रु १६ हजारका दरले पुरस्कार प्रदान गरिएको गिरीको भनाइ छ । पुरस्कार वापत मात्रै संस्थाले एक पटकमा करिब रु सात लाख रुपैयाँ स्थानीयलाई प्रदान गर्दै आएको छ । 
तीन वर्षे परियोजना लागू भएपछि स्थानीलाई हरेक ६ महिनामा आन्तरिक मूल्याङ्कन गर्दै पुरस्कार वितरण गरिँदै आएको अध्यक्ष गिरीले बताउनुभयो । “हामीले उनीहरुलाई सुरुमा कुनै पनि रकम दिदैनौँ, उनीहरुलाई मोटिभेसन गर्ने काम गर्छौँ, उनीहरु आफ्नै तरिकाले काम गर्छन्” गिरीले भन्नुभयो, “११ वटै कलस्टरमा हामीले सहजकर्ता राखेका छौँ, उनीहरुले गाउँमा पुगेर सहजीकरण गर्छन्, मूल्याङ्कन भइरहन्छ अनि ६ महिनामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गर्छौँ ।” उनीहरुलाई पैसा दिएर काम गराउनु भन्दा पनि काम गर्न प्रोत्साहन गर्दा दीर्घकालीन हुने बुझेर परियोजना लागू गरिएको गिरीले बताउनुभयो । 
सपना भिलेज सोसियल इम्प्याक्टका परियोजना अधिकृत अनिल अर्यालले स्थानीयहरुको घरमा नै पुगेर उनीहरुको चेतनास्तर उकास्नका लागि काम गरिरहेको बताउनुभयो । 
घर, स्वास्थ्य र आयआर्जनलाई प्राथमिकता दिँदै उनीहरुमा उत्प्रेरणा जगाउने काम गराउने र प्रतिस्पर्धाको आधारमा उत्कृष्ट गर्नेलाई पुरस्कृत गर्ने गरिएको अर्यालले बताउनुभयो । “घरको लिपपोट गर्नुपर्ने, घरका कोठाहरु छुट्याउनुपर्ने, धुवाँरहित चुलो निर्माण गर्नुपर्ने आधारहरु हुन्छन्” अर्यालले भन्नुभयो, “यो क्षेत्रमा स्वास्थ्यको कुरा गर्दा जाँडरक्सीको विकरात समस्या छ, जाँडरक्सी सेवन गर्न नहुने गर्भवतीले नियमित रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने, बालविवाह, बहुविवाह निरुत्साहन गर्नेसहित स्वास्थ्यलाई आवश्य पर्ने पौष्टिक तत्व खानका लागि जोड गर्छौँ ।” घरमै रहेको बारीमा करेसाबारी निर्माण गर्ने, सागसब्जी तरकारी उत्पादन गर्नुपर्ने, फलफूल खेती गर्नुपर्ने लगायतको विषयमा स्थानीयको चेतना अभिवृद्धि हुनेगरी कार्यक्रम हुँदै आएको अर्यालले बताउनुभयो । 
सिमान्तकृत समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने तथा चेतना छर्ने उद्देश्य लिएर कार्यक्रम गरिएको परियोजना व्यवस्थापक सुजन बस्नेतले बताउनुभयो । इच्छाकामना–१ मा ९५ प्रतिशत भन्दा बढी चेपाङ समुदाय रहेकाले आफूहरुले परियोजना लागू गरेको बस्नेतको भनाइ छ । “परियोजना लागू गर्नुपूर्व हामीले स्थानीय समुदायको अध्ययन गर्छौँ”, बस्नेतले भन्नुभयो, “सिमान्तकृत समुदाय भएको ठाउँमा परियोजना सञ्चालन गर्नुपर्ने अवस्था देखेपछि स्थानीय सरकारसँगको सहकार्यमा परियोजना लागू गर्छौँ ।” शिक्षा, महिला समनता, स्वास्थ्यलगायतको हिसाबले सो गाउँ पिछडिएको पाएपछि परियोजना सञ्चालन गरिएको  बस्नेतको भनाइ छ । 
परियोजनाले गाउँमा निर्माण गरेको ११ वटा क्लस्टरमध्ये प्रति कलस्टर दुई वटा बोयर जातको ब्याडे बोका, सुन्तला तथा कागतिजन्य फलफूलका बिरुवाहरु वितरण गर्दै स्थानीयलाई व्यवसायिक बनाउने प्रयत्न गरेको छ । सपना भिलेजले यस अघि कालिका नगरपालिकामा कार्यक्रमको सफलतापूर्वक सम्पन्न गर्दै स्थानीयको दैनिकीमा परिवर्तन ल्याउन सफल भएको छ । परियोजनाका अध्यक्ष ध्रुव गिरीले पहिले कार्यक्रम लागू गरिएको कालिका नगरपालिकाका दुई वटा वडामा स्थानीयको जीवनस्तरमा उल्लेख्य सुधार देखिएको बताउनुभयो । 

Samabesi1
प्रकाशित मिति: मंसिर १९, २०७८
166 Shares
Footer ads