
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको विचाराधीन रिटमा सर्वोच्चको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ । पुस १० गतेको आदेशानुसार इजलासमा अन्तिम सुनुवाइ हुन लागेको हो । सर्वोच्चले निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि यसको अन्तरिम आदेश आउन करिब एक महिना लाग्न सक्ने बताइएको छ ।
गत १० पुसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले २२ पुसदेखि यो मुद्दामा निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो ।
सोही दिनको आदेशअनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा लिखित जवाफ पेश गरिसकेका छन् । आजदेखि दुवै पक्षको बहस शुरु हुनेछ ।
आदेशअनुसार नेपाल बारले एमिकस क्युरीका लागि वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको छ । यस्तै सर्वोच्च बारले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता संग्रौलालाई पठाएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १४ वटा रिट विचाराधीन छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि त्यसलाई खारेज गर्न माग गर्दै रिट दर्ता भएका हुन् ।