संविधान र प्रजातन्त्रको रक्षा जनताको म्याण्डेटले गर्छ ः कमल थापा

संविधान र प्रजातन्त्रको रक्षा जनताको म्याण्डेटले गर्छ ः कमल थापा

काठमाडौँ, २२ पुस

राष्टिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का अध्यक्ष कमल थापाले ताजा जनादेश प्राप्त नगरी कांग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक भएको टिप्पणी गर्नु भएको छ ।
बागमती प्रदेशमा काँग्रेस सरकारमा जानसक्ने संसदीय दलको नेताको भनाई आएपिछ थापाले यस्तो टिप्पणी गर्नु भएको हो ।

थापाले नेकपा कानुनी रुपमा नफुटेको अवस्थामा काँग्रेसले सरकारमा जान लोभ गर्नु गलत भएको बताउनुभयो । केपी ओलीको असफलता र ज्यादतीबाट मुक्तिको निमित्त पनि ताजा जनादेशमा जान उपयुक्त भएको उहाँले बताउनुभयो । संविधान र प्रजातन्त्रको रक्षा जनताको म्याण्डेटले गर्छ थापाले भन्नुभयो, कानुनी तिकडम अपवित्र गठवन्धनले होइन ।

जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिएको अवस्थामा गठवन्धन सरकार स्वभाविक भएपनि एक पार्टीले स्पष्ट बहुमत पाएको अवस्थामा पार्टी फुटाएर, सांसद किनबेच गरेर, अपवित्र गठवन्धन बनाएर सरकार बनाउने कार्य संविधानको आशय नभएको उहाँको भनाइ छ ।

आज सामाजिक सञ्जालमा लेख्दै थापाले आफ्ना मूलभूत मान्यता नसमेटिएको कारण राप्रपाले यो संविधानको विपक्षमा मतदान गरेको भएपनि दुई तिहाइले पारित गरेको संविधानलाई आलोचनात्मक समर्थन गरेको बताउनुभयो । उहाँले संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा लागेकाले राम राम मात्रै भन्न सकिने उल्लेख गर्नुभयो ।

संसद विघटनको संवैधानिकताको परिक्षण अदालतले गर्ने हुँदा अदालतलाई दवाव र प्रभाव पार्ने काम सरकार र सडक कतैबाट गर्न नहुँने उहाँको तर्क छ । थापाले गत निर्वाचनमा जनताले स्थिर सरकारको निमित्त नेकपालाई बहुमत दिएका तर जनताको म्याण्डेटलाई नेकपाले धोखा दिएको आरोप लगाउनुभयो ।