१३ बर्षदेखि फरार गैंडा शिकारी जेल चलान
चितवन, २२ पुष ।
१३ बर्षदेखि फरार रहेका गैंडा शिकारीलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरी जेल चलान गरेको छ । १५ बर्ष कैद र एक बर्ष कैद बराबर हुन आउने जरिवाना सुनाइएका माडी नगरपालिका वडा नं ५ पिपरियाका बर्ष ४८ का शनिचरा महतोलाई निकुञ्जले पक्राउ गरी हिजो (मंगलबार) भरतपुर कारागार पठाएको हो ।
निज महतो निकुञ्जको कोर ईलाका भालुटापुमा विंस. २०६२ साल असारमा गैँडा मार्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको अनुसन्धानबाट खुलेपछि विंस. २०६२ असोज १२ गते मुद्धा दायर भएको थियो । विंस. २०६४ पुष २० गते भएको मुद्धाको फैसलाले निजलाई १५ वर्ष कैद र एक वर्ष कैद बराबर हुन आउने जरिवाना सुनाएपछि उनी फरार रहँदै आएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
निज महतोले सो गैँडा शिकारी गर्नका लागि भारतबाट अत्याधुनिक हतियार खरिद गरी गैडा मार्ने कार्यमा सहयोग गर्नुका साथै खाग बिक्रीमा संलग्नता रहेको पाईएको उनले बताए । यसै मुद्धाका अर्का फरार अभियुक्त सूर्जे महतोलाई निकुञ्जले करिब एक महिना अगाडी पूर्वी चितवनबाट पक्राउ गरेको थियो ।