उद्योग बाणिज्य संघद्धारा खैरहनी नगरपालिकालाई २० थान अक्सिजन सिलिण्डर सहयोग

चितवन वैशाख २३ गते ।

उद्योग बाणिज्य संघ खैरहनीले खैरहनी नगरपालिकालाई विहीवार अक्सिजन सिलिण्डर सहयोग गरेको छ । कोरोना संक्रमणबाट हुन सक्ने मानविय क्षती न्युनिकरणका लागि संघले २० थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो ।

अक्सिजन सिलिण्डर अभाव भएपछि संघले आफ्ना उद्योगी तथा व्यवसायीहरुबाट ति सिलिण्डर संकलन गरेको थियो । संघका पदाधिकारी तथा सदस्यहरु सिलिण्डर हस्तान्तरणका लागि नगरपालिका पुगेका थिए । संघका अध्यक्ष दिपेन श्रेष्ठले अक्सिजन हस्तान्तरणको पत्र नगरपालिका प्रमुख लालमणि चौधरीलाई हस्तान्तरण गरेका थिए ।

संघका अध्यक्ष श्रेष्ठले विपदको समयमा स्थानीय सरकारसंग सहकार्य गर्न पाउँदा खुसी लागेको वताए । नगरप्रमुख लालमणि चौधरीले विपदसंग जुध्न सवैको साथ चाहिने भन्दै संघले गरेको मानविय सेवा प्रति धन्यवाद दिए । नगरवासी सवै एक जुट हुनसके जस्तो सुकै विपद तथा समस्याको पनि सामना गर्न सकिने प्रमुख चौधरीले वताए । नगरपालिकाले कोरोना संक्रमण तथा रोकथामका लागि अहिले २४ वेडको आईसोलेसन तयार गरेको छ । चैनपुर स्वास्थ्य चौकीमा १५ वेड र खैरहनी ९ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा ९ वेडको आईसोलेसन वनाईएको हो । चैनपुर स्वास्थ्य चौकीमा पहिले संक्रमितहरु राखिने भएकाले त्यहाँ अक्सिजनको समेत व्यवस्था गरिएको छ ।

उद्योग बाणिज्य संघ खैरहनीले विहीवारनै इलाका प्रहरी कार्यालय खैरहनीलाई स्वास्थ्य सामाग्रीसहितका सामान सहयोग गरेको छ । संघले १ हजार थान मास्क, १० कार्टुन चाउचाउ,३० कार्टुन पानी र १ कार्टुन स्याउ सहयोग गरेको संघका महासचिव केदार वर्तौलाले जानकारी दिए । संघका प्रथम उपाध्यक्ष कुमार खनालले यो विषम परिस्थितीमा आईपर्ने समस्यामा संघले आवश्यक सहयोग गर्ने वताए ।