पत्रकार महासंघ निर्वाचन, चितवनमा ऐतिहासिक मत खस्यो

चितवन, २५ चैत ।
नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व चयनका लागि मतदान बुधबार मतदान भएको छ । पत्रकारहरुको छाता संगठन महासंघको केन्द्रीय, प्रादेशिक र स्थानीय तहको नेतृत्व छनोटका लागि बिहान ९ बजेदेखि भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । यसपटक महासंघको नेतृत्व प्रत्यक्ष प्रणालीमार्फत चयन हुँदैछ । यसअघि महासंघको नेतृत्व चयनका लागि पार्षदहरुले मात्रै मत दिन पाउने व्यवस्था थियो । देशभरका १३ हजार १ सय ८० जना पत्रकारले महासंघको नेतृत्व चयनका लागि मतदान गर्नेछन् । चितवनमा २७४ मतदाता रहेकोमा २६६ मत खसेको निर्वाचन समिति संयोजक जनक अर्यालले जानकारी दिनुभयो । सात जना विदेश तथा एक जना काठमाडौँमा किरियामा बस्नुपरेकाले महासंघमा आठ भोट खस्न नसकेको जनाइएको छ । नेपाल पत्रकार महासंघ चितवनको इतिहासमा नै यसपटक सबैभन्दा बढी भोट खसेको हो । चितवनको निर्वाचनमा अध्यक्षका लागि तिलकराम रिमाल, नारायण प्रसाद अधिकारी र सूर्यप्रकाश कँडेल चुनावी मैदानमा हुनुहुन्थ्यो । रिमाल प्रेस चौतारी, प्रेस संगठन र मिडिया नेपालको समूहबाट उम्मेदवार बन्नुभएको थियो । त्यस्तै, अधिकारी प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी(खनाल–नेपाल) समूहसहितका विभिन्न संगठनका तर्फबाट उम्मेदवार बन्नुभएको थियो । कँडेल स्वतन्त्र रुपमा अध्यक्षको दौडमा हुनुहुन्थ्यो । यस पटकको निर्वाचनमा आ–आफ्नो प्रदेशबाटै केन्द्रीय नेतृत्वलाई मत दिन मिल्ने व्यवस्था गरिएको छ । मतदान सकिएपछि बुधबार साँझबाटै नेपाल पत्रकार महासंघ चितवनमा मतगणना शुरु गरिएको छ । केन्द्र, प्रदेश र जिल्लाको मतगणनाको नजिता बिहीबार मात्रै सार्वजनिक हुने बताइएको छ ।