कोरोना विरुद्ध खैरहनीमा एकजुट भएर लड्ने प्रतिवद्धता

चितवन, २४ वैशाख ।
कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि स्थानीय सरकारलाई सहयोग गर्ने खैरहनीका सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । खैरहनी नगरपालिकाले शुक्रवार आह्वान गरेको सर्वदलीय, सर्वपक्षीय बैठकमा उपस्थित दलका प्रतिनिधि एवं उद्योगी व्यवसायीहरुको संघसंगठनले कोभिड विरुद्ध एकजुट भएर लड्ने प्रतिबद्धता जनाएका हुन् ।
खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले यहाँका सरोकारवालाहरु एकजुट हुन सके जस्तो सुकै समस्या पनि समाधान गर्न सकिने बताए । दोश्रो चरणको कोरोना सुरु भएपछि खैरहनी नगरपालिकाले सुरुआतमा जनचेतनाका लागि माइकिङ गर्ने, वडागत रुपमा सचेतना फैलाउने काम गरेको भन्दै अहिले २४ शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाइएको बताए । साथै सम्भावित घटना न्यूनीकरणका लागि एम्बुलेन्सको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेसका नगर सभापति शशिकुमार खनियाले कोरोना नियन्त्रणका लागि पार्टीगत र व्यक्तिगत रुपमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । नगरले गर्ने काममा आफूहरुसँग सहकार्य गर्न समेत उनले सुझाव दिए । वडा मार्फत टोल विकास समितिलाई परिचालन गरेर कोरोना रोग नियन्त्रण गर्नुपर्ने समेत खनियाँले बताए ।
नेकपा माओवादी केन्द्र नगर अध्यक्ष लक्ष्मी ढकालले कोरोनाका कारण हुने दुर्घटना प्रति सतर्क हुन नगरपालिकालाई आग्रह गरिन् । उनले आइसोलेसन बढाउन, कालोबजारी रोक्न, तरकारी र फलफूलका रिक्सा सञ्चालनमा रोक लगाउन सुझाव दिइन् । कोरोना विरुद्ध नगरपालिकाले गर्ने काममा आफ्नो पार्टी प्रतिबद्ध रहेको ढकालले बताइन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार बर्तौला, राप्रपाका केन्द्रीय सदस्य रामहरी कँडेल, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठ, चितवन उद्योग संघ खैरहनी इकाई अध्यक्ष प्रतिभा श्रेष्ठ, खैरहनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठले पनि आआफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले आइसोलेसन बिस्तार गर्न, अति आवश्यकीय वस्तुका पसल बिहान बेलुका निश्चित समय मिलाएर खोल्न, स्वास्थ्य क्षेत्रको कालोबजारी रोक्न, प्रहरी चेकिङमा कडाई गर्न सुझाव दिए ।
सो अवसरमा इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक सुवास भट्टले बजारमा मानिसको आवतजावत नियन्त्रण गर्न सके धेरै हदसम्म कोरोना फैलन नपाउने बताए । कम जनशक्तिका वाबजुत पनि दिनरात काम गर्नुपरेको भन्दै प्रहरी निरीक्षक भट्टले बहानाबाजी गरेर बजारमा निस्कने गरेको भन्दै रोग प्रति गम्भीर बन्नुपर्ने सुझाव दिए ।
बैठकमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले खैरहनीमा वैशाख ६ गतेदेखि दोश्रो चरणको कोरोना देखिएको भन्दै कोरोना नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासका बारे जानकारी गराएका थिए । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीको अध्यक्षतामा बसेको वैठकमा उपप्रमुख सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, वडाध्यक्षहरु लगायतको उपस्थिति थियो ।