माघ १६ देखि मतदाता नामावली अद्यावधिक गरिने

माघ १६ देखि मतदाता नामावली अद्यावधिक गरिने

चितवन, २४ पुष ।
जिल्ला निर्वाचन कार्यालय चितवनले आगामी माघ १६ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । सरकारले बैशाख १७ र २७ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचन कार्यालयले निर्वाचनको आन्तरिक तयारी थालेको छ ।
जिल्लामा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने काम पुुष ६ गते देखि नै रोकिएको छ । १६ बर्ष माथिका मतदाताहरुको प्रारम्भिक विवरण निर्वाचन आयोगमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख जनार्दन अधिकारीले बताए । प्रारम्भिक विवरण अनुसार चितवनमा पुष ५ गतेसम्म मतदाताहरुको संख्या ३ लाख ७४ हजार २ सय ४८ रहेको उनले बताए ।
मतदाता नामावली अद्यावधिक गरेपछि यो संख्या थपघट हुने उनको भनाइ छ । मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने काम रोकिएको मितिसम्ममा १८ बर्ष पुरा भएका मतदाताहरुले मात्रै निर्वाचनमा मत हाल्न पाउने छन् । मतदाता नामावली अद्यावधिक गर्दा त्रुटि सच्याउने, दोहोरो गणना भए एउटा हटाउने, मृत्यु भइसकेका मतदाताको नामावली हटाउने लगायतका काम हुन्छ ।
माघ १६ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रमलाई निर्वाचन आयोगले स्थानिय तहसम्म लैजाने उनले बताए । त्यसका लागि नायब सुब्बा सरहको कर्मचारीको संयोजकत्वमा स्थानिय तहको कार्यालयबाट सेवा प्रवाह हुने बताइएको छ । मतदान स्थल र मतदान केन्द्रको निर्धारणका लागि पुनरावलोकन समितिको बैठक बस्ने तयारी पनि भइरहेको निर्वाचन कार्यालयले बताएको छ ।