बजार क्षेत्रमा जथाभावि पार्किङ गर्ने करिब दुई हजार सवारी कारबाहीमा

चितवन, २४ पुष ।
बजार क्षेत्रमा जथाभावि पार्किङ गर्ने करिब दुई हजार सवारी साधनलाई चितवन ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस आर्थिक बर्ष २०७७÷७८ को हालसम्म राजमार्ग र बजार क्षेत्रमा जथाभावि पार्किङ गर्ने १ हजार ९ सय ५८ सवारीलाई कारबाही गरिएको हो ।

कोरोना महामारीमा लकडाउन लागु भएकाले साउन र भदौमा सवारी साधन कारबाहीमा परेनन् । असोज देखि हालसम्म १ हजार ९ सय ५८ सवारी कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए ।

सडकहरुमा बढ्दै गएको सवारी चापलाई मध्यनजर गरेर सडक, फुटपाथ र नो पार्किङ क्षेत्रमा अनाधिकृत रुपमा जथाभाबी सवारी पार्किङ गरि सडक र सवारी व्यवस्थापनमा अवरोध सिर्जना गर्ने र प्रतिकुल असर पार्ने सवारीलाई कारबाही गरिएको उनले बताए ।

असोजमा २७३, कार्तिकमा ६१७, मंसिरमा ६८० र पुषको हालसम्म ३८८ सवारीलाई कारबाही गरिएको उनको भनाइ छ । उनीहरुबाट २४ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरिएको उनले बताए ।
कुनै पनि बहानामा सडकमा जथाभावी सवारी पार्किङ नगर्न उनले आग्रह समेत गरेका छन् ।