पत्रकार महासंघ चितवनमा अधिकारीकाे नेतृत्व

चितवन, २६ चैत ।

नेपाल पत्रकार महासंघ चितवनको बुधबार सम्पन्न मतदानबाट लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका उम्मेदवार नारायणप्रसाद अधिकारी विजयी भएका छन् । बिहीबार बिहान आएको मतपरिणामअनुसार अधिकारी १४६ मतका साथ विजयी भएका हुन् ।
अधिकारीका निकटतम प्रतिस्पर्धी प्रेस चौतारी चितवनको प्यानलका उम्मेदवार तिलकराम रिमालले ११२ मत प्राप्त गरे । त्यस्तै, स्वतन्त्र रुपमा उम्मेदवारी दिएका सूर्यप्रकाश कँडेलले चार मत प्राप्त गरेका छन् । पत्रकार महासंघ चितवनका २७४ मतदातामध्ये २६६ जना मतदानमा सहभागी थिए ।
यस्तै, उपाध्यक्षमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाट १३० मतसहित प्रकाशमणि ज्ञवाली निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी रामकान्त पौडेलले १२४ मत प्राप्त गरे भने उपाध्यक्षमा स्वतन्त्र प्यानलका विनोदबाबु रिजालले नौ मत प्राप्त गर्न सफल भए । यसैगरी समावेशी उपाध्यक्षमा पनि लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलकी प्रमिता ढकाल १४१ मतसहित विजयी भएकी छन् । उनको प्रतिस्पर्धी शान्ता अधिकारी ‘बी’ले १२२ मत प्राप्त गरिन् ।
नेपाल पत्रकार महासंघ चितवनको सचिवमा भने प्रेस चौतारी प्यानलका दीपेन्द्र अधिकारी १४२ मतसहित विजयी भएका छन् । अधिकारीका निकटमत प्रतिस्पर्धी अनिल ढकालले १२४ मत प्राप्त गरे । समावेशी सहसचिवमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका उर्गेन तामाङ १५२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी अमीर रामदामले १०१ मत प्राप्त गरे ।
त्यस्तै सहसचिव खुलातर्फ प्रेस चौतारी नेपाल चितवनको प्यानलका आनन्द पोखरेल १२३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी टीकादत्त तिमिल्सीनाले ११८ तथा स्वतन्त्ररुपमा उम्मेदवारी दिएका राजु सापकोटाले २१ मत प्राप्त गरे । त्यसैगरी, कोषाध्यक्षमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाटै राजेन्द्र आचार्य १०६ मतका साथ निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी गोविन्द घिमिरेले १०२ तथा स्वतन्त्र उमेदवार राजेश घिमिरेले ५७ मत प्राप्त गरे ।
यसैगरी महिला सदस्यमा शोभा पुडासैनी १५६, दलित महिला सदस्यमा एलिना पोखरेल प्रिति १४८ र आदिवासी जनजाति सदस्यमा तुलमान गुरूङ १७८ मतका साथ निर्वाचित भए । तीनै जना लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका हुन् । यस्तै, खुला सदस्यमा विप्लव काफ्ले १६५, वसन्त शर्मा ढुङ्गाना १५५, अनिल भट्टराई १४४, सरिता पौडेल १३६, बबिलाल तामाङ १३१, समीक्षा पुरी १३०, विवेक पोखरेल १२७, ज्ञानेन्द्र तामाङ १२८ मतसहित विजयी भए । खुला सदस्यमा पुरी चौतारी प्यानलबाट उम्मेदवार थिइन् भने बाँकी सदस्य लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाट विजयी भएका हुन् ।