पाटेबाघको अस्थिपञ्जर फेला

– नन्दप्रसाद भट्ट ‘राज’
चितवन, २६ चैत । राष्ट्रिय गैँडा गणनाका क्रममा नारायणी नदीकिनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको छ । गैँडा गणनाका क्रममा आज दिउँसो चितवनको भरतपुर–१६ स्थित सेतीदेवी सामुदायिक वनमा पर्ने नारायणी नदीकिनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको हो ।
पाटेबाघको अस्थिपञ्जर फेला परेपछि डिभिजन वन कार्यालयको टोलीले मुचुल्का उठाएर अस्थिपञ्जर लिएर आएको डिभिजन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । सडेको अवस्थामा फेला परेको भए पनि खप्परका कारण पाटेबाघ भएको पहिचान गरिएको भन्दै खनालले यसबारे थप जानकारी अनुसन्धानपछि मात्रै थाहा हुने बताए । अस्थिपञ्जरको अनुसन्धानपछि मात्रै बाघको लिङ्ग, उमेरबारे भन्न सकिने खनालको भनाइ छ ।
वनमा जनावरको सुरक्षार्थ खटिएको खडक दल गणका सुबेदार गणेश थापाले पाटेबाघको अस्थिपञ्जर भेटिएपछि डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जमा जानकारी गराएको बताए । अस्थिपञ्जर भेटिएको क्षेत्र राष्ट्रिय वन अन्तर्गत पर्ने भएकाले डिभिजन वनबाट पुगेको टोलीले प्रकृया पुर्याएर अस्थिपञ्जर भरतपुरतर्फ लगेका छन् । अस्थिपञ्जर मात्रै भेटिएको बाघको खप्पर, दाह्रा सबै सुरक्षित अवस्थामा रहेकाले कालगतीले मरेको हुनसक्ने बताइएको छ ।