समयमै काम सक्न निर्माण व्यवसायीलाई मेयर चौधरीको निर्देशन

चितवन,२६ जेठ ।

चालु आर्थिक वर्षमा विनियोजित ठुला योजनाहरुका काम समयमै सक्न खैरहनी नगरपालिकाले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । यो वर्ष योजना कार्यान्वयनमा रहेका कालोपत्रे र पिचको काम तोकिएको समय भित्रै सक्न नगरपालिकाका मेयर लालमणि चौधरीले निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् । योजनाको जिम्मा पाएका निर्माण व्यवसायीलाई बुधवार आफ्नै कार्यकक्षमा वोलाएर मेयर चौधरीले आगामी असार २५ गते भित्र सम्पन्न गर्ने गरी योजनाको कामलाई तीव्र पार्न निर्देशन दिएका हुन् । संघ ,प्रदेश र स्थानीय तहले विनियोजन गरेका योजनाहरु( कालोपत्रे र पुल ) काम गर्न तोकिएकै समयमा गर्न उनले भनेका हुन् । संघ र प्रदेशको योजनालाई प्रथामिकता दिएर काम गर्नुस मेयर चौधरीले भने – वजेट फ्रिज हुने वातावरण नदोहोरियोस् ।

असार मसान्त भित्र निर्माण सम्पन्न हुन नसके प्रदेश र संघको वजेट फ्रिज हुन्छ । संघ र प्रदेशका पिचका योजनाहरु एक करोड सम्मका छन् । तर निर्माण व्यवसायीबाट तीव्र रुपमा काम हुन नसकेपछि मेयर चौधरीले समयमै काम सक्नु पर्ने वताएका हुन् । समयमै काम नसक्दा गत वर्ष संघीय योजनाहरुमा नगरले २ करोड रुपैयाँ खर्च गर्नु परेको नगरपालिकाले जनाएको छ । सो अवसरमा मेयर चौधरीले आम जनताको विश्वास जित्न टिकाउ हुने गरि काम गर्न पनि आग्रह गरे । योजनाको जिम्मा पाएका तपाईहरु (निर्माण व्यवसायी ) यही नगर भित्रैकै हुनुहुन्छ मेयर चौधरीले भने – तपाईहरुलाई अवसर पनि हो,प्रभावकारी काम गर्नुस् । सो क्रममा निर्माण व्यवसायीहरुले कोरोना संक्रमणका कारण कामदारको अभाव,निर्माण सामाग्रीको अभाव रहेको गुनासो गरे । सो अवसरमा उपमेयर सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने,आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत केशव हुमागांई,योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठ,यहाँका निर्माण व्यवसायीहरु सहभागी थिए ।