चितवनमा ८० जना कोरोना सङ्क्रमित थपिए, दुई जनाको मृत्यु

चितवन, २६ जेठ ।
पछिल्लो २४ घण्टामा चितवनमा ८० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीकाअनुसार पिसीआर परीक्षणबाट ६३ तथा एन्टिजेन परीक्षणबाट १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
आज कोरोना सङ्क्रमण देखिएकामध्ये भरतपुरका ३२, खैरहनीका १०, माडीका ६, रत्ननगरका १६, राप्तीका १४ र कालिकाका २ जना रहेका छन् । हालसम्म जिल्लाका १४ हजार ६४१ जनामा सङ्क्रमण पुष्टि भएकोमा १२ हजार ६७९ निको भएर घर गएका छन् भने २३३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल एक हजार ७३० जना सक्रिय सङ्क्रमित रहेको भन्दै तिवारीले सङ्क्रमितमध्ये १३८ जना अस्पतालको आइसोलेसन, एक हजार ५६१ जना होमआइसोलेसन र ३१ जना सार्वजनिक आइसोलेसनमा रहेको जानकारी दिए ।
जिल्लाका सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा दुई जना सङ्क्रमितको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेज (सिएमसी)मा उपचाररत चितवनका १÷१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको कार्यालयले जनाएको छ ।