सरकार विरुद्ध अनेरास्ववियू द्धारा बयलगाडा प्रदर्शन

काठमाडौँ, २६ पुस

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूले बयलगाडा प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज बयलगाडा प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले ललितपुरको पाटन क्याम्पस अगाडि बयलगाडा सडकमा गुडाउँदै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले बयलगाडा सडकमा ल्याउने बित्तिकै प्रहरीले हस्तक्षेप गरी बयलगाडा नियन्त्रणमा लिएको छ ।

वर्तमान प्रधानमन्त्री ओलीले २०६२–०६३ को आन्दोलनका बेला नेपालमा गणतन्त्र आउनु बयलगाडा चढेर अमेरिका पुग्नु जस्तै हो भन्ने धारणा राख्नुभएको थियो । ओलीको सोही धारणाप्रति व्यंग्य गर्दै अनेरास्ववियूले बयलगाडा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको मिलेमतोमा बलिदानबाट प्राप्त संविधान विपरित गरिएको प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरेका छन् ।

यस्तै, एमसिसी पास गराउने र मृत राजतन्त्रको पुनरागमनका लागि देशीविदेशी शक्तिको उक्साहट र डिजाईनमा प्रधानमन्त्री ओली प्रयोग भएको उनीहरुको आरोप छ ।
अनेरास्ववियूले यसअघि बुधबार काठमाडौँ उपत्यकामा दिउँसै लाल्टिन जुलुस निकालेको थियो ।