देवघाट गाउँपालिकाको ७औँ गाउँसभा सम्पन्न

देवघाट गाउँपालिकाको ७औँ गाउँसभा सम्पन्न

तनहुँ, २६ पुष ।
तनहुँको देवघाट गाउँपालिकाको ७औँ गाउँसभा आज सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७७÷७८ को दोस्रो त्रैमासिकको अवसरमा आयोजित गाउँपालिकाको ७औँ गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेको छ । चालु आवमा खर्च हुन नसक्ने बजेटलाई संशोधित कार्यक्रममा सार्न प्रस्ताव गरिएको छ ।
गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले चालु आवको दोस्रो त्रैमासिक (साउन देखि पुषसम्म)को प्रगति प्रतिवेदन प्रस्तुत गरिन् । चालु आवमा २७ वटा स्विकृत कार्यक्रमको ९१ लाख रुपैयाँ बजेट खर्च हुन नसक्ने अवस्था रहेको उनले बताइन् । गाउँपालिकाको खर्च हुन नसकेको बजेट र प्रदेश तथा केन्द्र सरकारबाट प्राप्त राजस्व बाँडफाँडको बजेट शंसोधित कार्यक्रममा खर्च गर्नेगरी गाउँपालिकाको वडा नं ५ का वडाध्यक्ष एवम् प्रवक्ता याल बहादुर गुरुङले प्रस्ताव गरे ।
२५ वटा योजनामा खर्च गर्नेगरी गरिएको प्रस्ताव गाउँसभाले अनुमोदन गरेको छ । अनुमोदित योजनालाई बजेटको सिमा अनुसार कार्यान्वयन गर्दै लैजाने गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले बताए । गाउँसभामा स्थानिय उत्पादनमा लगाइने करको दायरा, गाउँपालिकाको खर्च र प्रगति, कानुन तर्जुमा तथा संशोधन र विभिन्न निर्णयहरु अनुमोदन भएको उनले बताए ।