लोकतन्त्र खतरामा छ : पूर्व राष्ट्रपति डा यादव
नवलपुर, २८ चैत ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेख्नुभएको “यात्रा निरन्तर” पुस्तकको शनिबार विमोचन गर्दै यादवले लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्ने बताउनु भयो ।
संविधान जारी गर्दा, माओवादीलाई शान्ति प्रकृयामा ल्याउँदा काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको भन्दै डा यादवले लोकतन्त्रको रक्षाका लागि पनि अब काँग्रेसले नेतृत्व गर्नुपर्ने बताउनुभयो । “नेपालमा लोकतन्त्रको नागरिक जग बलियो छ” यादवले भन्नुभयो, “नेपालमा नगारिक सचेत छन्, हरेक राजनीतिक परिवर्तनमा जनताले साथ दिएका छन् ।” राजनीतिक परिवर्तनका क्रममा विश्वभर छरिएर रहेका नेपालीहरुले साथ दिएका भन्दै यादवले अबको पद्धती कसरी बलियो बनाउने भन्नेमा लाग्नुपर्ने बताउनुभयो ।
संविधान जारी गर्ने क्रममा आफूले देशभित्रको समस्या समाधान गरेर जाउँ भन्दा काँग्रेसले नै आफूलाई छोडेको डा यादवको भनाइ छ । “संविधान जारी गर्दा तराई मधेशको समस्या समाधान गरौँ देशमा शान्ति आउँछ भनेको थिएँ” यादवले भन्नुभयो, “तर त्यो बेलामा काँग्रेसले नै मलाई एक्लै बनायो ।” संविधान र देशलाई केन्द्रविन्दुमा राखेर शान्ति स्थापना गर्न सकिने उहाँको भनाइ छ । सामाजिक व्यक्तित्व तिलकप्रसाद सापकोटाले यात्रा निरन्तर मार्फत विगतमा भएका राजनीतिक घटनाक्रमका बारेमा यथार्थ चित्रण गर्नुभएको भन्दै डा यादवले यसबाट वर्तमान युवा पुस्ताले पाठ सिक्नसक्ने बताउनुभयो ।
कार्यक्रममा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले सापकोटाले धार्मिक क्षेत्र, सामाजिक सङ्घसंस्थामा पु¥याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभयो । व्यक्तिले असल कार्य गर्दै समस्त कृतिलाई लिपीवद्ध गर्दै अघि बढे जीवन सरल र सफल बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो । इतिहास भनेको कतैबाट आउने नभइ आफैले कर्म गर्दैै जाँदा बन्ने समेत उहाँले बताउनुभयो ।
जीवनवृतान्तमा आधारित कृति लोकार्पणका क्रममा नेपाली काँग्रेसका महामन्त्री प्राडा शशांक कोइरालाले यस क्षेत्रमा आफूले लगातार तीन पटकसम्म निर्वाचन जित्नुमा लेखक सापकोटाको ठूलो श्रेय रहेको बताउनुभयो । सापकोटाले टिकट नपाउनु दुर्भाग्य रहेको भन्दै कोइरालाले आफू आएको कारण पनि त्यसो हुन गएको बताउनुभयो ।
सोही कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले वर्तमान सरकारले विधिको शासन, जवाफदेही राजनीति र लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न नसकेको बरु उल्टो दिशातर्फ हिँडेको आरोप लगाउनुभयो । कोरोनाका कारण राज्य सिथिल बनेको अवस्थामा यसबाट प्रभावित जनशक्तिका लागि राहतको कार्यक्रम ल्याउन नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा थापाले धर्मको नैतिक पक्षलाई समातेर राजनीति गरिरहेको सन्दर्भमा सापकोटाको यो पुस्तकले प्रेरणा प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व सांसद शङ्कर पाण्डेले यात्रा निरन्तर पुस्कत ज्यूँदो इतिहास रहेको र यसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई प्रष्ट चित्रण गरेको बताउनुभयो । नेपाली काँग्रेसका जिल्ला सभापति एवं गण्डकी प्रदेशका सांसद विष्णुप्रसाद लामिछानेले साविक नवलपरासी हुँदा सापकोटाले पार्टी र सङ्गठनप्रति देखाउनुभएको सक्रियता र चिन्तनले सामाजिक विकासमा प्रेरणा दिइरहने बताउनुभयो । यो पुस्तकले काँग्रेसलाई गौरवान्वित र सङ्गठनलाई बलियो बनाउन सघाउ र मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सामाजिक एवं राजनीतिक विश्लेषक हरि शर्माले सापकोटा एक मार्गदर्शक र उहाँको पुस्तक प्रेरणादायी रहेको बताउनुभयो । गैरआवासीय नेपाली सङ्घका पूर्व उपाध्यक्ष कुल आचार्यले राजनीतिक र सामाजिक योगदानमा सापकोटाको जति नै चर्चा गरे पनि कम हुने बताउँदै उहाँको छवि निकै उच्च रहेको बताउनुभयो । विजय परिवारको तर्फबाट विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले वर्तमान विजयको स्वरुप र यसलाई स्थापित गराउन सापकोटाको योगदान अतुलनीय रहेको बताउनुभयो ।
पुस्तकका कृतिकार सापकोटाले अभिभावकविहीन अवस्थामा गैँडाकोटमा अपनत्व कायम गर्दै वीपी कोइरालाको समाजवादी अवधारणालाई आत्मसाथ गर्दै अघि बढ्दै गरेको अवस्थामा आफूले भोगेको कुरलाई लिपिवद्ध गरेको बताउनुभयो । बागलुङको बिहूँमा भेटिनुभएका वीपी र आफ्नो बुवाको प्रेरणाले राजनीतिमा लाग्न प्रेरित गरेको र आफूलाई भन्दा पनि समाजका लागि काम गरेको उहाँले बताउनुभयो । पुस्तक लोकार्पण कार्यक्रममा स्वागत गर्दै सापकोटाका सुपुत्र केशवप्रसाद सापकोटाले बाप्रति गौरव व्यक्त गर्नुभयो ।
पुस्तकको प्रकाशक विजय फाउण्डेशनका अध्यक्ष त्रिलोचन सापकोटाले पुस्तकबाट आएको आम्दानी परोपकारी काममा लगाइने बताउनुभयो । सो कार्यक्रममा पूर्व राष्ट्रपति यादवले लेखक सापकोटासँगै विसं २०१७ सालमा जेल जीवन बिताउनुभएका गोविन्द कँडेल र टेकनारायण श्रेष्ठलाई सम्मान तथा स्वर्गीय सूर्यभक्त अधिकारीलाई मरणोपरान्त सम्मान गर्नुभएको थियो ।
सापकोटाले २०४० सालदेखि २०७६ माघसम्म आफैले भोगेका र लेखेका दैनिक घटनाक्रमलाई पुस्तकमा उतार्नुभएको छ । लोकतन्त्र प्राप्तिका लागि सङ्घर्षको समय–डायरीमा सामाजिक तथा राजनीतिक पृष्ठभूमिबारे उल्लेख गर्नुभएको छ । ५०८ पृष्ठको सो पुस्तक साङ्ग्रीला बुक्स र विजय फाउण्डेशनले प्रकाशनमा ल्याएका हुन् ।
यस पुस्तकमा उहाँले आफूले भोगेका विविध घटनाक्रमहरु, आफ्नो जेल जीवन र समग्र राजनीतिक जीवनदेखि सामाजिक क्षेत्रमा आफ्नो संलग्नता समेत गरी उहाँको समग्र दैनिकी समेत समेटिएको छ । सादगी र सरल स्वभावका सापकोटा प्रजातन्त्र र स्वतन्त्रताको आन्दोलनका साथै त्यसका लागि आवश्यक पर्ने राजनीतिक र नागरिक सङ्गठन निर्माणका लागि निरन्तर सङ्घर्षरत एक असल प्रजातन्त्रवादी व्यक्तित्व हुनुहुन्छ ।