मिर्गौला पीडित समाजको सचेतनामूलक र्याली
चितवन, २८ चैत ।
नेपालमा मिर्गौलासम्बन्धी समस्या भोग्ने बिरामीको संख्या हरेक दिनजसो बढ्दै गएको छ । चितवनमा मात्रै तीनवटा अस्पतालको तथ्यांक हेर्ने हो भने मिर्गौला पीडित बिरामीको संख्या करिब ४५० जना रहेका मिर्गौला पीडित सरोकार समाज नेपालको चितवन शाखासँग तथ्यांक छ ।
पछिल्लो समय अस्वस्थ खानपान र आरामदायी जीवनशैलीका कारण मानिसहरुमा मिर्गौला बिग्रने समस्या बढ्दै गएको स्वयम् मिर्गौला पीडित बिरामीहरु नै बताउँछन् । मानव शरीरको महत्त्वपूर्ण अंग भएकोले मिर्गौलामा समस्या आउन नदिन शनिबार मिर्गौला पीडित सरोकार समाज नेपालको चितवन शाखाले र्याली नै आयोजना गरेको छ । ‘मिर्गौला बचाऔँ, आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने मूल नारासहित भरतपुरको पुरानो मेडिकल कलेज अस्पतालबाट निस्केको र्याली भरतपुर अस्पताल हुँदै चौबीसकोठीमा पुगेर सभामा परिणत भएको थियो ।
मिर्गौला बचाउने अभियानलाई सफल बनाउनको लागि जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको चितवन शाखाका अध्यक्ष टुमराज गुरुङले बताउनुभयो । मिर्गौला बिग्रिएर धेरै दुःख पाइएको भन्दै गुरुङले अब आउने पुस्ताले दुःख नपाऊन् भनेर जनचेतनामूलक कार्यक्रम गरेको बताउनुभयो । खानपानमा विशेष ध्यान दिन पनि उहाँले सबैमा आग्रह गर्नुभयो ।
आफूहरुले दुःख पाए पनि अरुले दुःख नपाऊन् भन्ने उद्देश्य रहेको उहाँले बताउनुभयो । उपचार भन्दा रोकथाम नै महत्वपूर्ण हुने हुँदा यस्ता समस्या हुनै नदिने उपाय अपनाउन सके धेरैले यो समस्याबाट छुटकारा पाउन सकिने समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीले बताउनुभयो । मोटोपन, मधुमेह र उच्च रक्तचापलाई सबैले नियन्त्रणमा राख्न सके समस्या नहुने उहाँले बताउनुभयो ।
आवश्यक पर्दा अंग दान गर्दा पनि लैंगिक विभेद नगरिदिन उहाँले आग्रह गर्नुभयो । सकभर शुद्ध शाकाहारी बन्न सके मिर्गौला मात्र नभई क्यान्सर र मुटुरोगबाट समेत बच्न सकिने उहाँको भनाइ छ । कार्यक्रममा मिर्गौलाका बिरामी र उनका आफन्तसहित सरोकारवाला निकायहरुको उपस्थिति थियो ।
चितवनमा भरतपुर अस्पतालसहित चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज अस्पतालमा मिर्गौलाका बिरामीको उपचार हुँदै आएको छ ।