नेपालमा गैँडाको सङ्ख्या ७५२ पुग्यो

चितवन, २८ चैत ।
नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ वटा गैँडा बढेको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय गैँडा गणना २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले नेपालमा गैँडाको संख्या ७५२ पुगेको बताउनुभयो । यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ वटा गैँडा थिए । हिजो सकिएको गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा भेटिएका छन् ।
यो सङ्ख्या सन् २०१५ मा ६०५ मात्रै थियो । पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य तीन वटा राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्यामा वृद्धि भएको ओलीले बताउनुभयो । ओलीका अनुसार चितवनपछि सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा गैँडा भेटिएको छ ।
त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडा भेटिएको ओलीले बताउनुभयो । पर्सा राष्ट्रिय निकुञ्जमा भने तीन वटा मात्रै गैँडा फेला परेका ओलीले बताउनुभयो । अघिल्लो गणनामा पर्सामा चार वटा गैँडा पाइएको थियो । राष्ट्रिय गैँडा गणनाअनुसार नेपालमा १४६ वटा भाले, १९८ पोथी भेटिएको उल्लेख गर्दै बाँकी ४०८ वटा गैँडाको लिङ्ग पहिचान हुन नसकेको ओलीले बताउनुभयो ।
५२० वटा वयस्क गैँडा भेटिदा ९६ अर्ध वयस्क र १३६ वटा बच्चा गैँडा भेटिएको ओलीले जानकारी दिनुभयो । राष्ट्रिय गैँडा गणना २०७७ को तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग महानिर्देशक डा दीपक खरालले चैत ९ गतेदेखि शुरु गरिएको गणना चैत २७ गते रातिमात्रै सकिएको बताउनुभयो । गणना सकिएपछि शुक्रबार र शनिबार तथ्याङ्क ससङ्कलन तथा प्रविष्ट गर्ने काम भएको उहाँको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी गैँडा गणनामा २३ दिन लागेको भन्दै खरालले गणनामा २५० जना गणक तथा ४३ वटा हात्ती प्रयोग भएको जानकारी दिनुभयो । गैँडा गणनाकै क्रममा ध्रुवे हात्तीले आक्रमण गर्दा सात जना घाइते भएको भन्दै एक जना गम्भीर घाइतेको काठमाडौँमा उपचार हुँदै गरेको उहाँको भनाइ छ । हात्तीले आक्रमण गरेपछि एक दिन र होलीको दिनमा गैँडा गणना हुन नसकेको भन्दै खरालले अन्य दिन बिहान ५ बजेदेखि राति अबेरसम्म गणना गरिएको जानकारी दिनुभयो । पर्सा र चितवनलाई १९ वटा ब्लकमा विभाजन गरेर गैँडा गणना गरिएको थियो ।