चितवनका करिब ११०० फ्रन्टलाइनरलाई कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाइदै
चितवन, २७ जेठ ।
पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारहरुलाई चितवनमा बिहीबार भेरोसेल खोपको पहिलो मात्रा लगाइएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक प्रसाद तिवारीले कोरोना नियन्त्रणमा अग्रभागमा खटिएका तर पहिलो चरणमा छुटेका व्यक्तिहरुलाई सरकारले बिहीबार पुनः खोप दिएको हो । चितवनका सात वटै पालिकाबाट भेरोसेलको पहिलो मात्रा प्रदान गरिएको भन्दै तिवारीले करिब एक हजार १०० जनाले बिहीबार भेरोसेलको पहिलो मात्रा लगाउने जानकारी दिनुभयो । बिहीबार पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई एक महिनापछि दोस्रो मात्रा प्रदान गरिने समेत तिवारीले बताउनुभयो ।
यसअघि चितवनमा माघमा सञ्चालन गरिएको पहिलो चरणको खोपमा ६ हजार ९७३ जना सहभागी भएका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । ढकालकाअनुसार फागुनको पहिलो साता सञ्चालित पहिलो चरणको दोस्रो मात्रा लगाउनेको सङ्ख्या भने सात हजार ८८१ रहेको थियो ।
त्यस्तै दोस्रो चरणको खोप २६ हजार ३७९ जनाले लगाएका भन्दै ढकालले चैत ३ गतेसम्म ३९ हजार ८७९ जनाले खोपको पहिलो मात्रा लगाएको जानकारी दिनुभयो । ढकालकाअनुसार जेठ १८ गतेसम्म खोपको दोस्रो मात्रा लगाउने १३ हजार १७२ जना रहेका छन् ।
जेठ २५ र २६ गते सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका ६२ देखि ६४ वर्ष उमेर समूहका आठ हजार ७९१ जनाले खोपको पहिलो मात्रा लगाएका ढकालले बताउनुभयो । जिल्लाका सात वटै स्थानीय तहको खोप केन्द्रबाट कोभिड विरुद्धको खोप लगाइएको ढकालको भनाइ छ ।